जनकपुरधाम, १४ कात्तिक ।
राजनीतिक मूलाधारबाट अलगथलग रहेका पूर्वमन्त्री जयप्रकाश गुप्ताले महन्थ ठाकुर पनि मधेसी हुन र भन्ने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्लाहीको एक कार्यक्रममा उठाएको प्रश्नप्रति आपत्ति व्यक्त गरेका छन् ।

आइतबार सामाजिक सञ्जालमा लेख्दै उनले प्रचण्डको त्यो अभिव्यक्ति असुहाउँदो र अनुचित भएको टिप्पणी गरेका छन् ।
प्राज्ञिक पृष्ठभूमिका नेता गुप्ताले प्रश्न गरेका छन्, ‘केपी ओलीसँग सहकार्य गरेकै कारण महन्थ ठाकुरलाई गैरमधेसी भन्ने हो भने उपेन्द्र यादवलाई पार्टी एकीकरणको आह्वान गर्नुलाई के भन्ने ?’
उनले समय–समयमा उपेन्द्र यादवले पनि सबैसंग सहकार्य गरेको उल्लृख गर्दै महन्थ ठाकुरको अन्य तरिकाबाट आलोचना गर्न सकिए पनि कसैको जात, समुदाय आदिका आधारमा यस्तो भाषाका साथ सार्वजनिकसभामा आलोचना गर्नु ठिक नभएको लेखेका छन् ।
माओवादीसँगको जसपाको एकताको प्रस्तावले मूर्त रूप लियो भने धमिलिएको मधेस राजनीति थोरै भए पनि सग्लिन मद्दत नै पुग्ने विश्लेषण गर्दै नेता गुप्ताले व्यंग्य गर्दै लेखेका छन्, ‘आउनुस्, मसँग मिल्नुस् । अनि म तपाईलाई निल्नेछु !’
उनले यस्तो खुला मनसायका साथ हुने एकताको खेलको दृश्य पनि राम्रै हुन भन्दै टुंग्याएका छन्, ‘एकातिर प्रचण्ड महोदय अर्कोतिर उपेन्द्रजी !’
