जनकपुरधामको शैक्षिकस्तर खस्कियो भने व्यापक चियागफ भइरहँदा गहिरो चिन्ताफिकिर हुनु स्वाभाविक नै हो । ज्ञानगुणको यो भूमिमा प्राज्ञिक तेजोहरणका कारण जेसुकै भए पनि यस्तो अवस्थाको यथार्थ र यसबाट उत्पन्न हुने अनिष्टले अत्याउँछ नै । तर, घनघोर निराशाका बीच याज्ञवल्क्य, गार्गी र मैत्रैयीको यो थलोले सामथ्र्य, सम्भावना र आशाको थाहासुद्दी पनि गराइरहन्छ ।

हो, जनकपुरधामका दुई युवकले पिएचडीका लागि फेलोसिप पाएका छन् भने एउटै परिवारमा तीनजना पिएचडी होल्डर हुने भएका छन् । उनीहरु हुन्, धनुषा खजुरीका मोहन मण्डल र शान्ति मण्डलका छोरा वर्ष २७ का आनन्द मण्डल तथा जनकपुरधाम ४ का अशोक रौनियार र गायत्री रौनियारका कान्छा छोरा वर्ष ३० का सौरभ रौनियार ।
नेपाल विद्युत् प्राधिकरणमा जागिरे रहेका फेलोसिप पाउने मण्डलका बुवा शालिन, सौम्य र शान्त प्रवृत्तिका व्यक्तित्व हुन् भने रौनियारका बुवा नेपाल पत्रकार महासंघ धनुषाका पूर्वअध्यक्ष, स्वतन्त्रता सेनानी र विन्दास जीवनशैली मन पराउने व्यक्तित्वका रूपमा चिनिन्छन् ।
पिएचडी पढ्न आनन्द मण्डल आइतबार युनिभर्सिटी अफ वोलोनगङ्ग, अस्ट्रेलियाका लागि प्रस्थान गरेका छन् । उनी प्राधिकरणमा सातौं तहमा कार्यरत थिए र केयुमा पढाउँथे पनि । उनले पाएका फेलोसिप पाउने जम्मा दुईजना छन्, जसमा नेपालबाट एकजना उनी र अर्का एकजना इरानका हुन् । उनका भाइ शम्भु मण्डल पनि पेसाले इन्जिनियर र नेपाल सरकारका जागिरे हुन् । उनी सञ्चारकर्मीसमेत रहेका प्रेस सेन्टर नेपालका धनुषा अध्यक्ष सञ्जीव मण्डलका भाञ्जा हुन् ।
यस्तै सौरभ रौनियार डाटा साइन्समा पिएचडी गर्न फरबरी २०२२ मा मेक्युरी युनिर्भसिटी, सिडनी अस्ट्रेलियाका लागि प्रस्थान गर्ने भएका छन् । यसरी यी दुई परिवारका आफन्तहरूले सामाजिक सञ्जालमा खुसीका पल साटिरहँदा सिँगो जनकपुर पनि हर्षित छ ।

सौरभले २०१२ मा बिटेक, एनआइटी जयपुरबाट भारतीय राजदूतावासको सहयोगमा फुल स्कलरसिपमा गरे । मास्टर्स इन कम्युनिकेशन इन्जिनियरिग ताइवानबाट उनले गरे । उनी ताइवानमै सिएसटी कम्पनीमा काम गरे । उनको भाषिक सीप, कार्यकुशलता र दक्षताले उनको कम्पनीले भारतमा भएको कम्पनीमा काम गर्न पठाए ।
उनी भारतमा मेक्सिस टायरमा इन्जिनियरिंग डिपार्टमेन्टका प्रमुख भएर २०१६ देखि २०२० सम्म काम गरे । त्यहाँ ३५ सय करोड प्रोजेक्टको कारोबार थियो । उनी मैथिली, नेपाली, अँग्रेजी, हिन्दी, अँग्रेजी, चाइनिज र गुजराती भाषा लेख्न र बोल्नमा पोख्त छन् । उनको यसै क्षमताले उनको उचाइ बढायो र कम्पनीले उनलाई भारतमा काम गर्न पठायो । यहाँ उनले वार्षिक २५ लाख नेपाली रुपैयाँ कमाउँथे । त्यहाँबाट उनले २०२१ सम्म भ्यायोवोटिक्स, आइटी कम्पनी सिँगापुरमा काम गर्दै आएका छन् । अहिले अनलाइन काम गर्दैछन् ।
कोभिड १९ का बेला बालीनाली सखाप पार्ने सलह कीराबाट उब्रिन उनको कम्पनीले दुईवटा जाल भएको ड्रोन बनायो जसमा सलह कीरा जालमै फसेर मर्थे अनि बालीनाली जोगिन्थ्यो ।
सिंगापुरमा जनवरी २०२२ मा आयोजना हुन लाागेको विश्व वैज्ञानिक सम्मेलनमा भाग लिनका लागि उनको पनि छनोट भएको छ । सम्मेलनमा सहभागी हुन १७ सयले आवेदन दिए पनि उनीलगायत दुई सयमात्र चुनिएका छन् । उनका दाइ आशीष रौनियारले पनि तीन वर्षअगाडि २०१९ मा यो सम्मेलनमा भाग लिइसकेका छन् ।
काम, प्रोफाइल, रिसर्च र अनुभवका आधारमा आफू पिएचडीका लागि चुनिएको उनको भनाइ छ । डाटासम्बन्धी थप ज्ञान हासिल गर्न र पिएचडी छनोटमा पर्नका लागि तयारी गर्न उनी वार्षिक २५ लाखको जागिर छाडेका थिए । ‘दाइ र बुवामम्मीको सहयोग, साथ र समर्थनमा त्यो जागिर छाडँे । साथीहरूले कोभिडका बेला जागिरको क्राइसिस हुन्छ, जागिर नछोड भन्थे । तर म साथीहरूका कुरा मानिनँ,’ उनले भने, ‘कहिलेकाहिँ त्यत्रो पैसा कमाइराखेकामा ठयाम्मै छाडेपछि अलिक पट्यार पनि लाग्थ्यो ।’
डेढ करोड रुपैयाँ पढाइका लागि र डेढ करोड रुपैयाँ खानबस्नका लागि गरी उनले जम्मा ३ करोड रुपैयाँको स्कलरसिप पाएका छन् । ‘जीवनमा खुसी र दुःख भइ नै रहन्छ, यो स्वाभाविक प्रक्रिया हो,’ उनी भन्छन् । आफ्नो योग्यता र क्षमतालाई थप तिक्कखर, मजबुत र प्रभावोत्पादक बनाउन डाटासम्बन्धी आर्टिफिसियल अनलाइन कक्षा पनि तयारीका क्रममा गरेको उनले बताए ।

यस्तै उनी कोन्सवर्ग गु्रप, सिन्टेफ डिजिटल कम्पनीमा काम गर्नेगरी ओस्लो युुनिर्भसिटीबाट पनि पिएचडी गर्नका लागि अप्लाई गरेका छन्, त्यसमा पनि आफ्नो नाम निस्कने प्रबल सम्भावना रहेको उनले बताए । त्यहाँ चार वर्षको कोर्स हुनेछ जसमा २ वर्ष त्यो कम्पनीमा काम पनि गर्नुपर्ने प्रावधान छ ।
स्वतन्त्रता सेनानी समेत रहेका पत्रकार रौनियारका अर्का जेठा छोरा वर्ष ३२ का आशीष रौनियार पनि ओस्लो युनिर्भसिटीबाट कम्प्युटर साइन्समा पिएचडी होल्डर र प्रोफेसर हुन् । उनी सिन्टेफ डिजिटल रिसर्च साइन्टिस्ट हुन् । उनी भ्योवोटिक्सका संस्थापक र चिफ टेक्निकल अफिसर हुन् ।
धेरै ठाउँबाट सम्मानित भइसकेका र लामो कार्यअनुभव भएको फेहरिस्त छ उनको । उनी विश्वका ५४ वटा देशमा गएर कार्यपत्र प्रस्तुत गरिसकेका छन् । उनी पनि ब्याचलर भारतीय दूतावासको फुल स्कलरसिपमा पढेका हुन् । केही साताअगाडि मात्र उनी जनकपुरधाममा प्रणयसुत्रमा बाँधिए ।

यस्तै पत्रकार रौनियारकै भाइ दीपक रौनियार जो जनकपुरका स्टार क्रिकेटर थिए । जनकपुरका युवाका ढुकढुकी अत्यन्त मिलनसार दीपकका छोरा समुन्द्र दीप पनि पिएचडी होल्डर हुन् । उनले पनि कम्प्युटर साइन्समा मेक्युरी युनिर्भसिटीबाट पिएचडी गरेका छन् । उनले मास्टर्स चीनबाट गरेका हुन् । बिटेक एनआइटी, सुरतबाट गरे ।
अमेरिकाको सफ्टवेयरसम्बन्धी ठूलो कम्पनी डिओटीमा एनालिस्ट साइन्सटिस्टका रूपमा काम गर्दै आएका उनले भारतीय राजदूतावासको फुल स्कलरसिपमा ब्याचलर पढ्नका लागि नाउँ निकालेका थिए । पिआर होल्डर रहेका उनको यही महिनामा इन्गेजमेन्ट नेपालमै भयो ।
यस्तै अशोक रौनियारका अर्का दाइ अरुण गुप्ताकी छोरी २७ वर्षीया नेहा रौनियारले भारतीय राजदूतावासको फुल स्कलरसिपमा एमबिए क्रिस्ट कलेज बैँगलोरबाट पास गरिन् । एसेन्च्योर इन्डिया सफ्टवेयर कम्पनीमा उनले दुई वर्ष काम गरिन् भने अहिले नेपालमै घरजम गरेर डिअरवाक सफ्टवेयर कम्पनीमा काम गर्दै आएकी छिन् ।
यस्तै उनको परिवारको आदित्य रौनियार पनि भारतीय राजदूतावासको फुल स्कलरसिपमा बिबीए, काकिनाडा, एमबिए जेन युनिर्भसिटी बैंगलोरबाट गरेका छन् । उनले ठूलो कन्सल्टिग कम्पनी पिडब्लुसीमा काम गरेका छन् भने आफ्नो विरासतीय व्यवसाय प्रवद्र्धन गर्दै जनकपुरमै जमेका छन् ।
यसरी रौनियार परिवारका प्रायः सबैजना भारतीय राजदूतावासको जेनरल र सार्क कोटामा ब्याचलर डिग्रीसम्म पढेका छन् । मिहिनेत, लगन र लगावले अहिले दुईजना पिएडी होल्डर छन् भने एकजनाले पिएचडीका लागि नाम निकाली पढ्न जाने तरखरमा छन्।
सञ्चार र प्रविधिको अकल्पनीय, अप्रत्याशित विकास भइरहेका बेला रौनियार परिवारका यी युवा वैज्ञानिकहरूको योगदानले प्रविधि र सूचनाको क्षेत्रमा थप टेवा पुर्याउन सक्नेमा जनकपुरवासी विश्वस्त छन् ।
वर्ष २०२१ लाई बिदाइ गर्न र नयाँ वर्षलाई स्वागत गर्न आतुर रहेका बेला वर्षको अन्त्यमा जनकपुरले यो गौरवानुभव गरेको छ ।
शान्त, शालीन र बिन्दास बाउका प्रतिभाशाली सन्तानहरू रौनियार र मण्डल परिवारका सन्तानले सधैं राष्ट्र, समाज र देशका नाम रोशन गरिरहोस् । चम्किला ताराहरूले सदैव सफलताका उत्कर्ष चुमिरहोस् ।
