अहिलेका


प्रतिगमनविरुद्ध पहिलो स्वर जसपाको रहेको मन्त्री यादवको दाबी

लहान, ३० असोज ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवले मन्त्री पदको कार्यभार सम्हालेपछि पहिलोपटक गृहजिल्ला सप्तरी आउनेक्रममा लहानको सहिद स्मारक पुगेकी छिन् । पहिलो मधेस आन्दोलनका प्रथम सहिद रमेश महतोको शालिकमा माल्यार्पण गर्दै उनले जनअधिकार स्थापनाका लागि भएका आन्दोलन तथा विद्रोहमा सहादत दिएकाप्रति श्रद्धासुमन व्यक्त गरिन् ।

शनिबार लहानमा सहिदहरूलाई सम्झिँदा निकै भावुक बनेकी मन्त्री यादवले केपी शर्मा ओलीको प्रतिगामी कदमलाई सबैभन्दा पहिले जसपा नेपालले नै विरोध गरेको बताइन् ।

 

मन्त्री यादवले प्रधानमन्त्री रहेका बेला केपी शर्मा ओलीले जनादेशबाट बनेको प्रतिनिधिसभा दुईपटक विघटन गर्दा ती कदमलाई जसपा नेपालले नै प्रतिगामी, असंवैधानिक र अलोकतान्त्रिक काम भनी विरोध गरेको स्मरण गरिन् । उनले काँग्रेस र माओवादी नेताहरूले संसद विघटनको विरोध आफूहरूले सबैभन्दा पहिला गरेको दाबी गरे पनि तिनमा सत्यता नरहेको जिकिर गरिन् ।

उनले भनिन्,‘ओलीको अनुचित र अवैधानिक कदमका विरुद्धमा अग्रगामी राजनीतिक दलहरूले गर्नु अस्वाभाविक होइन । तर, ओलीको हठविरुद्ध भने पहिलो शंखघोष जसपा नेपालले नै गरेको हो ।’

मुलुकको परिवर्तनमा लहानले दिएको योगदानलाई कहिल्यै बिर्सन नसकिने बताउँदै मन्त्री यादवले देशको संसद र संविधानको रक्षा समेत लहानले नै गर्नेमा आफू विश्वस्त रहेको बताइन् ।

मन्त्री यादवको आज गृहजिल्ला सप्तरीको राजविराजमा भव्य स्वागत गरिएको छ ।


Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!