जनकपुरधाम, २८ मंसिर ।
प्रदेश नम्बर २ मा प्रदेशसभाको वैठक बस्दैँछ ।
प्रदेश २ का प्रदेश प्रमुख हरिशंकर मिश्रले बुधबारका लागि प्रदेशसभाको ८औँ अधिवेशन आह्वान गरेपछि वैठक बस्न लागेको छ ।
नेपालको संविधान धारा १८३ को उपधारा १ बमोजिम प्रदेशसभाको अधिवेशन आह्वान गरेको हो ।
बुधबार विहान ११ बजे बस्ने प्रदेशसभा वैठकका लागि तयारी पुरा गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ ।
भोली बस्न लागेको प्रदेशसभाको बोलाइएको वैठकमा उपस्थित हुन प्रदेश सांसदहरुलाई जानकारी गराइएको प्रदेशसभा सचिवालयका निमित्त सचिव रञ्जित यादवले जनाए ।
भोलीको प्रदेशसभा वैठकमा प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्र पढेर वाचन गरिने, प्रदेशको नामाकरण र राजधानी सम्बन्धी प्रस्ताव पेश हुने र केही अध्यादेशहरुमाथि पनि छलफल हुने कार्यसूची रहेको निमित्त सचिव यादवले बताए ।
यसअघि असोज २२ गत प्रदेशसभाको सातौं अधिवेशन अन्त्य भएको थियो ।
यता नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा काँग्रेसी प्रदेश सांसदहरु उपस्थित हुन नसक्दा भोली बस्ने वैठकले औपचारिकतामै सम्पन्न हुने छ ।
