जनकपुरधाम, २३ कात्तिक ।
प्रदेश २ का प्रदेश प्रमुख हरिशंकर मिश्रले लामो समय पछि प्रदेश सरकारले पठाएको दुई वटा अध्यादेश प्रमाणिकरण गरेका छन् ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् वैठकबाट सिफारीस भएका प्रदेश प्राविधिक विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश र प्रदेश कृषि विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेशलाई प्रदेश प्रमुख मिश्रले मंगलबार प्रमाणिकरण गरेका हुन् ।
मन्त्रिपरिषद्को वैठकले कार्तिक ९ गते दुई वटा अध्यादेश प्रदेश प्रमुख समक्ष सिफारीस गरी पठाउने निर्णय गरेको थियो ।
प्रदेश प्रमुख मिश्रले आज नेपालको संविधानको धारा २०२ बमोजिम अध्यादेश जारी गरेका छन् ।
कृषि तथा प्राविधिक सम्बन्धि उच्च स्तरीय जनशक्ति उत्पादन तथा कृषि र प्राविधिक सम्बन्धि अध्ययन अनुसन्धानलाई समय सापेक्ष, व्यापक, व्यवहारिक र स्तरीय बनाउन प्रदेश स्तरीय कृषि तथा प्राविधिक विश्वविद्यालय स्थापना आवश्यक देखिएको प्रदेश सरकारको भनाइ छ ।
