अहिलेका


प्रदेश २ का मन्त्री साह जब पहलमानी गराउन आखाडामा उत्रिए

सिरहा, ४ मंसिर ।
प्रदेश २ सरकारका अर्थमन्त्री एवम् प्रवक्ता शैलेन्द्रप्रसाद साहले दुई शक्तिशाली र साहसी व्यक्तिबीच एकअर्कालाई आघात नपुर्याई विजय हासिल गर्ने कुश्ती खेल मधेस सँस्कृति र परम्पराको अभिन्न अंग रहेको बताएका छन् ।

सिरहाको लहान नगरपालिका वडा नम्बर २३ तिलबोनास्थित हनुमाचोकमा आयोजित दंगल (कुश्ती प्रतियोगिता) को शनिबार उद्घाटन गर्दै मन्त्री साहले कुश्ती खेललाई मनोरञ्जन उद्योगकै रूपमा विकसित गर्न सकिने बताए ।

उनले कुश्तीमा प्रतिस्पर्धीको क्षमता अनुमान गर्ने तीक्ष्णता, प्रहारलाई निरस्त गर्ने तात्कालीक निर्णय र प्रतिप्रहारका सीप आदि महत्वपूर्ण पक्ष रहेको औंल्याउँदै कुश्ती एउटा खेलमात्र नभएर जीवशैलीको परिचायक रहेको उल्लेख गरे ।

उनले भने, ‘कसैलाई क्षति नपुग्ने गरी दाउपेच लगाउने यो खेलले शक्तिसंघर्षमा बलबुद्धि प्रयोग गरे पनि इष्र्या तथा डाहजस्ता विवेकहीन भावना राख्न नपर्ने सन्देश दिन्छ ।’

कुनै पनि अस्शस्त्र प्रयोग नगरी शारीरिक तथा मानसिक फुर्तिका साथ खेलिने कुश्ती परम्परालाई जोगाउन प्रदेश सरकार प्रतिबद्ध रहेको पनि मन्त्री साहले बताए ।

मेला समितिका अध्यक्ष रेवतीरमण यादवको अध्यक्षतामा भएको प्रतियोगिताको उद्घाटन समारोहमा जनता समाजवादी पार्टी नेपालका प्रदेश सदस्यहरू रामचलितर महतो, ललिता दास, रीता यादव, नेपाली काँग्रेसका जिल्ला सदस्य कन्हैयाप्रसाद गुप्ता, जसपा नेपालका क्षेत्रीय अध्यक्ष प्रयागलाल यादव, क्षेत्रीय उपाध्यक्ष रामउद्गार महतो, युवा नेता सकुर राइनलगायतका दर्जनभन्दा बढी वक्ताले कुश्ती प्रतियोगिताका महत्वका बारेमा धारणा राखेका थिए ।

 

 


Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!