अहिलेका


प्रदेश २ को स्थायी राजधानी जनकपुरधाम रहनेः उपसभापति निधि


जनकपुरधाम, २३ असोज ।

सत्तारुढ नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले प्रदेश नम्बर २ को स्थायी राजधानी जनकपुरधाम नै रहने बताएका छन् ।

शनिबार एक कार्यक्रममा बोल्दै उपसभापति निधिले प्रदेश २ को स्थायी राजधानीको सवालमा सबै दल सहमत रहेकाले जनकपुरधाम नै राजधानी रहने स्पष्ट पारेका हुन् ।

सोलुमेट कैफे एण्ड रेष्टुरेन्टको उद्घाटनमा बोल्दै उनले प्रदेश २ को स्थायी राजधानी हरेक दृष्टिकोणले जनकपुरधाम उपयुक्त रहेको बताए ।

काँग्रेसको १४ औँ महाधिवेशनका सभापति आकांक्षी समेत रहेका पूर्वमन्त्री निधिले भने– यस प्रदेशको स्थायी राजधानी जनकपुरधाम रहन्छ, यसमा शंका नगर्नुस् । जचुकालिको भवन पनि प्रदेश सरकारका लागि उपयुक्त छ, यो भन्दा अर्को कुनै उत्तम विकल्प छैन ।’

नेता निधिले जनसंख्याको आधारमा मैथिली भाषा नेपालको दोश्रो र प्रदेश २ को पहिलो भाषा रहेकाले मैथिली सरकारी कामकाजको भाषा बन्ने निश्चित रहेको उनको भनाई छ । उनले मैथिली भाषालाई प्राथमिकतामा पार्नका लागि आवश्यक दबाव दिइरहन समेत प्रदेशवासीलाई आग्रह गरे ।

नेता निधिले प्रदेशको राजधानी जनकपुरधामबाट सार्ने उद्देश्यले केही पार्टीका नेताले जनकपुर चुरोट कारखाना लिमिटेड पुनः सञ्चालन गर्ने कुरा गरेर जचुकालिको सबै सम्पत्ति बेच्ने षड्यन्त्रमा लागिपरेको आरोप समेत लगाए ।

अर्को प्रसङ्गमा बोल्दै नेता निधिले आफू काँग्रेसको आगामी १४ औं महाधिवेशनमा सभापतिको उम्मेदवार रहेको भन्दै पार्टीका नेता कार्यकर्तालाई आग्रह गर्दै मलाई सहयोग गर्नुस्, मेरो आग्रह छ भने ।
उनले भने– मैले सभापतिमा उम्मेद्वारी घोषणा गरिसकेकाले सम्पर्क कार्यालय खोलेर काम अघि बढाइसकेको छु ।
प्रधानमन्त्री समेत रहेका काँग्रेसका सभापति शेरबहादुर देउवा निकट मानिएका उपसभापति निधि आसन्न महाधिवेशनमा देउवालाई टक्कर दिदैँ महाधिवेशन केन्द्रित आफ्ना गतिविधिलाई तिव्ररुपमा अगाडी बढाउदैँ आएका छन् ।


Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!