जनकपुरधाम, १३ पुस ।
प्रदेश २ को नामकरण र स्थायी राजधानी निर्धारण गर्ने विषयमा निचोडमा पुग्न सहजीकरण हुने गरी अध्ययन गर्न प्रदेश २ सभाले सभामुख सरोजकुमार यादवको संयोजकत्वमा राजधानी र नामकरणसम्बन्धी अध्ययन विशेष समिति गठन गरेको छ ।
प्रदेश २ सभाको आठौँ अधिवेशनको पाँचौं बैठकले गठन गरेको सो विशेष समितिका सहसंयोजकमा उपसभामुख उपमाकुमारी देवलाई राखिएको छ ।
सर्वदलीय विशेष समितिका सदस्यहरूमा प्रदेशसभा सदस्यहरू उपेन्द्रकुमार कुशवाहा, किशोर साह (कमल), जगतप्रसाद यादव, दिलिपकुमार साह, परमेश्वर साह, विदेश्वरप्रसाद यादव, शत्रुधन महतो, शारदा थापा, शिवचन्द्र चौधरी, शैलेन्द्रकुमार यादव, सञ्जयकुमार यादव, सावित्रीदेवी साह, सुन्दरबहादुर विश्वकर्मा र सुरिताकुमारी साह रहेका छन् ।
मंगलबार बसेको प्रदेशसभा बैठकमा सभामुख यादवले प्रदेशसभा कार्यसञ्चालन (पहिलो संशोधन) नियमावली, २०७५ को नियम ७३ (क) को उपनियम (९) तथा नियम ७३ (ख) को उपनियम (९) बमोजिम प्रदेशको राजधानी र नामकरणसम्बन्धी प्रस्तावमाथि अध्ययन गरी प्रदेशसभामा प्रतिवेदन पेस गर्न राजधानी तथा नामकरणसम्बन्धी अध्ययन विशेष समिति, २०७८ गठन गर्न नामावलीसहितको प्रस्ताव पेस गरेका थिए । सोही प्रस्तावलाई प्रदेशसभा सदस्यहरूले अनुमोदन गरेपछि समिति गठन भएको हो ।
समितिलाई प्रदेशको राजधानी र नामकरण सम्बन्धमा दर्ता भएको प्रस्तावहरूबारे विभिन्न पक्ष, विज्ञसँग छलफल, अन्तरक्रिया गरी सुझावसहित १५ दिनभित्र प्रदेशसभामा प्रतिवेदन बुझाउने जिम्मेवारी तोकिएको छ ।
सोही बैठकमा प्रदेशसभा सञ्चालन कार्यविधिअनुसार संसदीय दलको सिफारिसमा प्रदेशसभा सदस्य प्रमिलादेवी यादवलाई महिला, बालबालिका तथा सामाजिक न्याय समितिबाट विकास समितिमा तथा पश्मिना काजरीलाई अर्थ तथा योजना समितिमा हेरफेर गरिएको सभामुख यादवले जानकारी दिए ।
जनता समाजवादी पार्टी (जसपा) नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल र नेकपा माओवादी केन्द्रले प्रदेश २ को नाम मधेस प्रस्ताव गरेको छ भने नेकपा एमाले र नेकपा एकीकृत समाजवादीले जानकी नाम प्रस्ताव गरेको छ । नेपाली काँग्रेसले मिथिला–भोजपुरा नामाकरण प्रस्ताव गरेको छ ।
प्रदेशसभाको बैठक अर्काे सूचना नभएसम्मका लागि स्थगित गरिएको सभामुख यादवले जानकारी दिए ।
