जनकपुरधाम, १६ कात्तिक ।
प्रदेशमा उत्कृष्ट काम गर्ने व्यक्तिलाई सम्मान गर्ने उद्देश्यले बनाएको पदकसम्बन्धी विधेयक प्रदेश २ का प्रमुखले प्रमाणीकरण गरेका छन् ।
प्रदेशका तत्कालीन प्रमुख डा. राजेश झा ‘अहिराज’ ले फिर्ता पठाएको विधेयक अहिलेका प्रदेश प्रमुख हरिशंकर मिश्रले मंगलबार प्रमाणीकरण गरेका छन् ।
प्रदेशसभा २ बाट २०७७ असोज २६ मा पारित भएको सो विधेयकलाई तत्कालीन प्रदेश प्रमुख अहिराजले केही सुझाव दिँदै विधेयक प्रमाणीकरण नगरी फिर्ता गरेका थिए ।
उनले प्रदेशमा रहेका प्रदेशबाहिरका स्वदेशी र विदेशीलाई समेत प्रदेश पदकबाट सम्मान गर्न सक्ने व्यवस्था थप गर्न सुझाएका थिए ।
सो विधेयक पहिलेका प्रावधानमा परिवर्त नभई प्रमाणीकरण भएको प्रदेशसभा २ का सचिव रञ्जित यादवले बताए ।
मंगलबार प्रमाणीकरण भएको विधेयकमा १५ विधाका पदकको व्यवस्था छ ।
प्रदेश रत्न, मुख्यमन्त्री प्रज्वल तारा, रमेश महतो पदक, प्रदेश जनसेवा पदक, प्रदेश समाज सेवा श्री, प्रदेश मेघावी पदक, प्रदेश किसान रत्न पदक, प्रदेश विद्याभूषण, प्रदेश सेवा उत्कृष्ट पदकको व्यवस्था प्रमाणीकरण भएको विधेयकमा छ ।
प्रदेश शैक्षिक उत्कृष्ट पदक, प्रदेश गौरव पदक, प्रदेश विभूति पदक, प्रदेश सुरवीर पदक, पर्यटन शिखर पदक, सामाजिक अभियन्ता पदक पनि छ ।
आफ्नो क्षेत्रमा प्रदेशको गरिमा राष्ट्रिय/अन्तर्राष्ट्रिय स्तरमा बढाएको व्यक्तिलाई प्रदेश रत्न दिइनेछ ।
अनुकरणीय भूमिका निर्वाह गरेको व्यक्तिलाई मुख्यमन्त्री प्रज्वल तारा पदक दिइनेछ ।
प्रदेशको पहिचान, उत्थानका लागि योगदान पु¥याउने व्यक्तिलाई रमेश महतो पदक दिइनेछ ।
जनस्तरमा लोकप्रिय र प्रशंसनीय काम गर्ने जनप्रतिनिधि र समाजसेवीलाई प्रदेश जनसेवा पदक दिइनेछ ।
समाजसेवा, शिक्षा, स्वास्थ्य, वातावरण, दिगो विकास, समाज सुधार, सांस्कृतिक बिषयमा उल्लेख्य योगदान गर्ने व्यक्तिलाई प्रदेश समाज सेवाश्री पदक दिइनेछ ।
कला, भाषा, साहित्य, संगीत, शिक्षा, खेलकुद विद्यामा उत्कृष्ट योगदान गर्ने व्यक्तिलाई प्रदेश मेघावी पदक दिइनेछ ।
प्रदेशभित्रका विश्वविद्यालयबाट विद्यावारिधी गरी प्रदेशमा बसोबास गर्ने व्यक्तिलाई प्रदेश विद्याभूषण दिइनेछ ।
इमान्दारीपूर्वक, उत्कृष्ट एवं प्रशंसनीय काम गर्ने प्रदेश सरकार मातहतका मन्त्रालय, कार्यालय तथा कर्मचारीलाई प्रदेश सेवा उत्कृष्ट पदक दिइनेछ ।
शैक्षिक क्षेत्रमा सर्वाेत्कृष्ट योगदान पु¥याएका विद्यालय, प्रधानाध्यापक र विश्वविद्यालयका पदाधिकारीलाई प्रदेश शैक्षिक उत्कृष्ट पदक दिइनेछ ।
प्रदेश सरकारले मनोनित गरेका विभिन्न निकायमा सेवारत रही कुशलतापूर्वक अनुकरणीय जिम्मेवारी पूरा गर्ने व्यक्तिलाई प्रदेश गौरव पदक दिइनेछ ।
संघीयता स्थापनाका लागि जीवन आहुति दिनेलाई प्रदेश विभूति पदक दिइनेछ ।
विपद् उद्धार क्रममा अभूतपूर्व क्षमता प्रदर्शन गरी वीरता र साहसपूर्ण कार्य गरी उल्लेखनीय योगदान पु¥याउने व्यक्तिलाई प्रदेश सुरवीर पदक प्रदान गरिनेछ ।
कृषि क्षेत्रमा र अनुकरणीय कार्य गरी उत्प्रेरक भूमिका खेल्ने किसानलाई प्रदेश किसानरत्न पदक दिइनेछ ।
प्रदेशभित्रको पर्यटन क्षेत्रको बिषयमा विभिन्न योगदान, उल्लेखनीय योगदान गरेको व्यक्तिलाई पर्यटन शिखर पदक दिइनेछ ।
सामाजिक सद्भाव छुवाछुत तथा सामाजिक विभेद अभियन्ता, सांस्कृतिक पहिचानका उल्लेख्य योगदान गरेका व्यक्तिलाई सामाजिक अभियन्ता पदक दिइनेछ ।
पदकसहित नगद पुरस्कार समेत प्रदान गर्न सकिने र नगद पुरस्कारको राशि तथा नगद पुरस्कारसम्बन्धी अन्य व्यवस्था पछि तोकिनेछ ।
प्रदेश सरकारले कसैलाई दिएको पदक रद्द समेत गर्न सक्छ । ऐनअनुसार आफूले प्राप्त गरेको पदक कसैलाई बिक्री गरेमा वा बन्धकी राखेमा, पदकको मर्यादा विपरीत हुने गरी पदकको प्रयोग गरेमा वा कसैलाई प्रयोग गर्न दिएमा पदक रद्द हुन सक्छ ।
प्रदेशको अपमान वा मानमर्दन गरेका, प्रचलित कानुनविपरीत राष्ट्रको मर्यादामा आघात हुने कुनै कार्य गरेको प्रमाणित भएमा पदक रद्द गर्न सक्ने व्यवस्था विधेयकमा राखिएको छ ।
स्वेच्छाले पनि पदक रद्द गर्न सक्ने व्यवस्था ऐनमा छ । पदक कसैले फिर्ता गर्न चाहेमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा बुझाउन सक्नेछन् ।
