जनकपुरधाम, ४ कार्तिक ।
देशभरी केही दिनदेखि भइरहेको निरन्तरको वर्षाका कारण प्रदेश २ मा पनि जनधनको क्षति भएको छ । प्रदेश २ मा वर्षातका कारण मानवीय क्षती नभएपछि खेतमा लगाइएको धानको व्यापक क्षती भएको हो ।
प्रदेश २ मा अगौटे धानमा ठूलो क्षति पुगेको छ । प्रदेश २ का खेतहरुमा लगाइएका धानहरु मध्ये १५ प्रतिशत धानमा क्षति पुगेको जनाइएको छ । कार्तिक महिनामा अप्रत्याशित रुपमा हावाहुरी र अविरल वर्षातका कारण बालासम्म फुट्न नपाएको धानको बिरुवा पानीमा ढलेको छ । ढलेका धानहरुमा क्षति पुग्ने किसानहरुको भनाई छ । कम लम्बार्ई हुने धानहरु सोना मनसुली, कतरनी, रामविलास लगायतका धानहरुमा क्षति नपुग्ने अनुमान कृषि ज्ञान केन्द्र धनुषाले गरेको छ । त्यस्तै बासमती, करिया कामुर लगायतका धानहरुकोे बढी लम्बाई हुने भएकाले पानीमा ढलेको र बाला फुट्न नपाउँदै पानीमा गल्ने सम्भावना समेत बढेको छ ।
चार मेट्रिक टन प्रति हेक्टर धान उत्पादन हुने अनुमान गरिएको धनुषा जिल्लामा धान उत्पादनमा यो वर्षाका कारण कमी आउने कृषि ज्ञान अध्ययन केन्द्र धनुषाका प्रमुख शंकर साहले जनाए । उनले धनुषामा धान खेतीमा खासै असर नपरेपनि बाला फुटि सकेको धानमा क्षति पुग्ने उनले बताए । धनुषा जिल्लामा चार मेट्रिकटन प्रति हेक्टर धान उत्पादनको अनुमान गरिएकोमा केही ह्रास आउने उनले बताए । धनुषा जिल्लामा यस वर्ष ५८ हजार हेक्टरमा धान खेती गरिएको छ ।
त्यस्तै सर्लाही जिल्लामा काट्न बाँकी रहेको अगौटे धान मध्ये ५० प्रतिशत धानमा क्षति पुगेको कृषि ज्ञान अध्ययन केन्द्र सर्लाहीका प्रमुख कमलदेव प्रसाद कुश्वाहाले बताए । उनले अगौटे धानमध्ये ७५ प्रतिशत धान काटि सकिएको र बाँकी रहेको २५ प्रतिशत धान मध्ये ५० प्रतिशत धानमा क्षति पुगेको बताए ।
४० हजार हेक्टरमा धान खेती गरिएको सर्लाही जिल्लामा अगौटे र पछौटे धान मिलाएर कुल १५ प्रतिशत धानमा क्षति पुगेको कुश्वाहाले बताए । सर्लाहीमा ४ मेट्रिक टन प्रति हेक्टर धान उत्पादन हुने अनुमान गरिएको थियो ।
त्यस्तै बारा तथा पर्सा जिल्लामा समेत १० प्रतिशत धानमा अविरल वर्षाका कारण क्षति पुगेको छ । कृषि ज्ञान अध्ययन केन्द्र बाराका प्रमुख जितेन्द्र यादवले सबै स्थानीय तहसंग सम्पर्क गरेर धान खेतीमा पुगेको क्षतिबारे सूचना संकलन गरि रहेको जानकारी दिए । बारा जिल्लामा ५८ हजार हेक्टर जग्गामा धान खेती गरिएको छ ।
महोत्तरी जिल्लामा गहिरो खेतमा रहेका धानहरुमा ठूलो क्षति पुगेको छ । यद्यपि अन्य भागमा रहेका खेतहरुमा पानी लागेपनि धान उत्पादनमा खासै ह्रास नआउने कृषि ज्ञान अध्ययन केन्द्र महोत्तरीका प्रमुख देवानन्द रायले बताए । महोत्तरीमा ४६ हजार हेक्टर जग्गामा धान खेती गरिएको छ ।
त्यस्तै दुई दिन परेको वर्षाको कारण महोत्तरीमा साढे ९ लाख भन्दा बढीको नोक्सान भएको छ । मंगलबार देखि परेको वर्षा सँगै आएको हावाहुरीबाट महोत्तरीको विभिन्न स्थानमा ९ लाख ५५ हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले जानकारी दिए ।
