जनकपुरधाम, १५ कार्तिक ।
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरधामले आफ्नो सेवा विस्तार गरेको छ ।
सोमबार एक कार्यक्रमका बिच प्रदेश २ का सामाजिक विकास मन्त्री नवल किशोर साहले सर्ने रोग, नसर्ने रोग, गुणस्तर नियन्त्रण, तालिम तथा सम्पूर्ण प्रयोगशाला जाँचहरुको सेवा सञ्चालन शुभारम्भ गरेका छन् ।
मन्त्री साहले प्रदेश २ को स्वास्थ्य स्थितीमा सुधार गर्नको लागि आज यो सेवाहरु सञ्चालन गरिएको बताए । उनले कोरोनाको कारणले हुने कुरााहरु पनि हुन नसकेकोले अहिले आएर पुनः काम थालेको बताए ।
उनले विरामी पर्नुभन्दा अगाबै त्यसको जाँचको लागि आज प्रदेशमा प्रयोगशालाको विस्तार गरिएको बताए ।
प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा. श्रवण कुमार मिश्रले प्रदेश जनस्वास्थ्य प्रयोगशाला स्थापनाको मुख्य उदेश्य नै प्रदेशमा पब्लिक हेल्थ, ल्यावोरेटरी सर्भिस र केमिकल रिलेटेड हेल्थ सर्भिसको सुरुवात गर्नु रहेको बताए ।
मिश्रले सुरुमा यस प्रयोगशालामा कोभिड जाँच गरिएको र अहिले आएर एचआइभी भाइरल रोग, हेपाटाइटिज ‘बि’, हेपाटाइटिज ‘सी’, टेवरक्लोसिसको जाँचको सुरुवात समेत भएको बताए । उनले भने, ‘अब हामी प्रदेशको पालिकाहरुमा समेत विस्तार गर्ने क्रममा छौँ ।’
निर्देशक मिश्रले रोगको अर्लि डाइलाइसिसको लागि धरान, काठमाडौँ, दिल्ली जानु पर्नेभएकोले अब जनकपुरधाममै डाइग्नोसिस सर्भिस प्रदेशस्तर देखि जिल्ला स्तरसम्ममा आएको बताए ।
जनस्वास्थ्य प्रयोगशालामा जडान गरिएको मेसिनरी प्रयोग गर्नको लागि दक्ष जनशक्तिको लिने काम पुरा भइसकेको मिश्रले बताए । उनले यहाँ रिक्त रहेको ह्युमन रिर्सोस, प्याथोलोजिष्ट, माइक्रोबायोलोजिष्ट, बायोकेमिष्ट, हेमाथोलोजिष्टहरु भर्ना भइसकेको बताए ।
लोकसेवाको प्रक्रियाबाट प्रयोगशालामा हरेक डिपार्टमेन्ट हाँक्न सक्ने जनशक्ति ल्याइएको मिश्रले भने ।
प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा सुरुमा कोरोना परीक्षण मात्र गरिएपनि अहिले आएर बायो केमिष्ट्री डिपार्टमेन्ट, इन्डोक्राइनलोजि डिपार्टमेन्ट, माइक्रोबायोलोजि डिपार्टमेन्ट, हेमाटोलोजि डिपार्टमेन्ट, मोलेकुलर बायोलोजि डिपार्टमेन्ट लगायतको सुरुवात भएको छ ।
प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा अब १ सय २५ किसिमको जाँच हुने भएको छ ।
अब थाइरोइडको जाँच, भिटामिन ए, भिटामीन बि, ट्युमर मार्कर, हार्मोन, प्याप, अटोमेटेड ब्लड कल्चर, अटोमेटिक टिस्यु प्रोसेसिङ्ग, एचआइभी भाइरल लोड लगायतका सेवा प्रयोगशालामा सुरु भएको छ ।
एचआइभीको जाँच काठमाडौँमा मात्र भइरहेकोले अब जनकपुरधाममा समेत त्यसको जाँच हुने जनस्वास्थ्य प्रयोगशालाले जनाएको छ ।
