अहिलेका


प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत प्रदेशसभा किन छल्दैछ ?

जनकपुरधाम, ११ असोज ।
प्रदेश २ को सरकारले प्रदेशसभालाई प्रभावकारी बनाउनुपर्नेमा सदन छल्दैँ आफ्नो आयू लम्ब्याउने दाउमा लागेका छन् । सत्तारुढ जसपा दल विभाजन भएको दुई महिना वितिसक्दा समेत विश्वासको मत नलिई प्रदेशसभा बैठक छल्दैँ आइरहेका छन् ।
मुख्यमन्त्री लालबाबु राउत सरकारको बेवास्ताले दुई महीना देखि प्रदेश सभा बैठक बस्न सकेको छैन ।
प्रदेश २ को छैटौं अधिवेशन १८ जेठमा सुरु भएको थियो । शुरुवातमा केही बैठक बसे पनि पछिल्लो दुई महिनामा संसद् चल्न सकेको छैन । २९ असारमा अर्को सूचना जारी नभएसम्म स्थगित भएको प्रदेश सभा बैठक अझै सम्म पनि संचालन हुने सुरसार छैन ।
मुख्यमन्त्री राउतले समयावधि भित्र विश्वासको मत नलिई प्रदेशसभा संचालनमा तदारुकता नदेखाउदा संसद छलिरहेको भन्दै विपक्षी दलहरूले आरोप लगाएका छन् । गठबन्धन सरकारका नाममा संसदलाई बेवास्ता गरिएको सत्तारुढ दलको समेत आरोप छ ।

सत्तारूढ नेपाली कांग्रेस संसदीय दलका नेता एवं प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादवले मुख्यमन्त्री लालबाबु राउतसँग यस विषयमा कुराकानी गरेको बताए । भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादवले भने– मन्त्रिपरिषद् र प्रदेशसभाको विषयलाई लिएर पटक पटक मुख्यमन्त्रीलाई भन्दै आएको छु । तर मुख्यमन्त्रीले आलटाल गरिरहेका छन् ।
सत्तारुढ जसपा फुटेपछि कांग्रेस, नेकपा माओावादी केन्द्रलगायत गठबन्धनको सरकार प्रदेश २ मा छ । गठबन्धनकै सरकारको नेतृत्व गरिरहेको मुख्यमन्त्री राउतले संसदलाई बेवास्ता गरेको विपक्षी दलको आरोप छ । विश्वासको मत नलिनुलाई पनि विपक्षी दलले गठबन्धनसँगै जोडेका छन् । विपक्षी दलले गठबन्धनप्रति मुख्यमन्त्रीको विश्वास नरहेकाले विश्वासको मत लिन मुख्यमन्त्री राउत डराएको आरोप लगाएका छन् ।
०७४ मा तत्कालीन राजपा नेपाल र समाजवादी पार्टी नेपालबीच गठबन्धनमा राउत नेतृत्वमा सरकार बनेको थियो । पछि यी दुवै दल एकीकरण भएर जनता समाजवादी पार्टी नेपाल बनेको थियो ।
अहिले जसपा विभाजित भएर लोकतान्त्रिक समाजवादी पार्टी नेपाल गठन भएको छ । ९ भदौमा निर्वाचन आयोगले लोसपालाई वैधानिकता प्रदान गरेको थियो ।
संविधानको धारा १८८ को उपधारा २ मा मुख्यमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा प्रदेश सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्र विश्वासको मतका लागि प्रदेशसभा समक्ष प्रस्ताव राख्नुपर्ने व्यवस्था छ । ३० दिन बित्दापनि मुख्यमन्त्री राउतले विश्वासको मत लिन सकिरहेका छैनन् ।
कांग्रेस संसदीय दलका नेता यादवले सरकारसँग पर्याप्त बहुमत हुँदा समेत विश्वासको मत लिन किन डराइरहेको बताएउदैँ उनले भने– बुझ्नै सकिएको छैन ।
प्रदेशसभामा १०७ सदस्यीय मध्ये अहिले १०४ प्रदेश सांसद छन् । जसपाका ३९, कांग्रेस १९, लोसपाका १६, नेकपा एकीकृत समाजवादीका १३, नेकपा (एमाले)का ८, नेकपा माओवादी केन्द्रका ८ र नेपाल संघीय समाजवादी पार्टीका एक जना सांसद छन् ।
अहिले प्रदेशमा जसपा, कांग्रेस र माओवादी केन्द्र सरकारमा सहभागी छन् ।


Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!