अहिलेका


प्रदेश २ सरकारले कृषिमा भएको क्षती बारे विवरण संकलन गरिदैँ

जनकपुरधाम, ४ कार्तिक ।

प्रदेश २ सरकारले अविरल बर्षा तथा हावाको प्रभावबाट कृषि बालीनालीमा परेको प्रभावबारे विवरण संकलन भईरहेको जनाएको छ ।

बिहीबार प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा कार्तिक १ र २ गते मौसममा भएको बदलावको कारण अविरल बर्षा तथा हावाको प्रभावबाट कृषि बालीनालीमा परेको नकारात्मक प्रभावप्रति मन्त्रालयको गम्भिर ध्यानाकर्षण भएको जनाउँदै डाटा संकलनको कार्य भईरहेको जनाइएको हो ।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विजय यादवले डाटा संकलन भएपश्चात प्रदेश सरकारले राहत घोषणा गर्ने जनाए । उनले भने,‘डाटा नै संकलन नगरी राहत घोषणा गर्न सकिँदैन, हामी क्षतिको यकिन विवरण संकलन गरिरहेका छौं । त्यसपछि सरकारले राहत घोषणा गर्छ ।’

उनले अविरल बर्षा तथा हावाको प्रभावबाट सम्पूर्ण प्रदेशबासीहरुमा आर्थिक तथा मानसिक तनाबको अवस्था आएको बताउँदै सरकारले किसानहरुका लागि राहतको घोषणा चाँडै गर्ने विश्वास समेत दिलाए ।

उनले यस प्रदेशमा यो बर्ष करिव ४ लाख ३ हजार हेक्टरमा धान रोपाइ भएको जानकारी दिए ।
धानबाली भित्राउने बेलामा आएको अविरल बर्षाले किसानको मिहिनेत तथा लगानी खेर जाने हो की डर आउनु स्वभाविक नै रहेको भन्दै हालसम्म प्राप्त सूचना अनुसार फाटफुट रुपमा कटानी भएको पाजा (पसही) खेतमा नै डुबेको, हावाको बेगका कारण लामो उचाइ भएका जातहरु ढलेको बारे सूचनाहरु प्राप्त भईरहेको बताए ।
खेतमा फलेको तरकारीबालीमा नोक्सानको साथै दलहन र तेलहन बाली लगाउन बाधा पर्न सक्ने र अहिले विभिन्न तरकारीका बेर्नाहरु नर्सरीमा हुर्काउने समय भएकोले उक्त बेर्नाको ब्याडहरुमा पानी जमेको जानकारीमा आइरहेको मन्त्रालयले जनाएको छ ।

त्यसैगरी पशुपन्छीको सन्दर्भमा हालसम्म क्षतिको जानकारी प्राप्त नभएको तर मत्स्य पोखरीका डिलहरुमा फाटफुट क्षति पुगेको मन्त्री यादवले बताए । क्षतिको यथार्थ विवरण यकिन गर्न स्थानीय तहको ठुलो भूमिका रहेकोले उक्त कार्यमा प्रदेश सरकारलाई सहकार्य तथा सहयोग गर्न समेत मन्त्री यादवले अनुरोध गरे ।
यस विषयमा मन्त्रालयले मातहतका निकायहरुमा पत्राचार गरी क्षतिको अवस्था यकिन गर्ने कार्य भईरहेको जानकारी दिएको छ ।


Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!