अहिलेका


प्रदेश २ : सरकारी टोलीले थाल्यो मधेस प्रदेश बनाउने वार्ता

प्रशोधक
जनकपुरधाम, ६ पुस ।
प्रदेश २ सरकारले मधेस प्रदेशका रूपमा प्रदेश २ को नामकरणका लागि प्रदेशसभाभित्र रहेका विभिन्न राजनीतिक दलसँग सहमति जुटाउन टोली गठन गरेको छ ।

अर्थमन्त्री शैलेन्द्रप्रसाद साह नेतृत्वको सो टोलीले मंगलबार बिहान दुई राजनीतिक पार्टीका संसदीय दलका नेतासँग भेटेर प्रदेश २ को नामकरण मधेस प्रदेश गर्नका लागि आग्रह गरेको छ ।

सरकारी टोलीले नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता एवम् आन्तरिक मामिला तथा सञ्चार मन्त्री भरतप्रसाद साह र नेकपा(एकीकृत समाजवादी) का संसदीय दलका नेता एवं उद्योग, पर्यटन तथा वन मन्त्री शत्रुधन महतोसँग भेटेर मधेस प्रदेशमा सहमति जुटाउन छलफल गरेको हो ।
अर्थमन्त्री साह नेतृत्वको सरकारी टोलीमा मुख्य सत्तारुढ दल जनता समाजवादी पार्टी(जसपा) का प्रदेशसभा सदस्य मनिषकुमार सुमन, विशेश्वरप्रसाद यादव, सुरेश मण्डल र शैलेन्द्र यादव रहेका छन् ।

प्रदेश २ को नामकरण मधेस प्रदेश गर्नुपर्ने विषयमा नेकपा माओवादी केन्द्रको प्रदेश २ संसदीय दलका नेता भरतप्रसाद साहसँग वार्ता गर्दै सरकारी टोली
अर्थमन्त्री शैलेन्द्रप्रसाद साह नेतृत्वको सो टोलीले मंगलबार बिहान दुई राजनीतिक पार्टीका संसदीय दलका नेतासँग भेटेर प्रदेश २ को नामकरण मधेस प्रदेश गर्नका लागि आग्रह गरेको छ ।

टोलीका नेता मन्त्री साहले मंगलबार छलफल गरिएका दलका नेताहरू मधेस प्रदेशमा सकारात्मक रहेका र उनीहरू पार्टीसँग समन्वय गरेर नामकरणका विषयमा निचोडमा पुग्ने बताएको जानकारी दिए । उनले भने, ‘नेकपा माओवादी केन्द्रको संसदीय दलका नेता मधेस प्रदेशमा सहमत नै हुनुहुन्छ । नेकपा(एकीकृत समाजवादी) को संसदीय दलका नेता शत्रुधन महतोले पार्टीसँग समन्वय गरेर टुंगो लगाउने बताउनुभएको छ ।’

प्रदेश २ को नामकरण मधेस प्रदेश गर्नुपर्ने विषयमा नेकपा (एकीकृत समाजवादी) को प्रदेश २ संसदीय दलका नेता शत्रुधन महतोसँग वार्ता गर्दै सरकारी टोली

मन्त्री साहका अनुसार मंगलबार भेट भएका संसदीय दलका नेताहरू प्रदेशको नामकरणका शीघ्र गर्नुपर्नेमा भने उत्साहित देखिएका छन् ।

सरकारी टोलीले पुस ८ गते प्रमुख प्रतिपक्षी दल लोसपा संसदीय दलका नेता जितेन्द्र सोनल र प्रतिपक्षी नेकपा एमाले संसदीय दलका नेता सत्यनाायण मण्डलसँग भेटनेछ । काँग्रेस ससदीय दलका नेता रामसरोज यादवसँग टोलीले आजै भेट्ने भनिए पनि काँग्रेस प्रदेश २ अधिवेशनमा यादव व्यस्त भएकाले उनीसँगको छलफल दुई दिन सरेको छ ।

नाममा सहमति जुट्न नसकेपछि प्रदेश २ को नामकरण र राजधानी निर्धारण भएको छैन । मुख्य सत्तारुढ दल जसपा, सत्ताका घटक नेकपा माओवादी केन्द्र र प्रमुख प्रतिपक्षी लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) नेपाल मधेस प्रदेशका पक्षमा छन् भने अर्का सत्तारुढ दल नेपाली काँग्रेसले मिथिला भोजपुरा प्रदेश र नेकपा(एकीकृत समाजवादी) ले जनक प्रदेश र प्रतिपक्षी दल नेकपा (एमाले) ले जानकी प्रदेशको नाम अघि सारेका छन् ।


Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!