अहिलेका


प्रदेश २ सरकार : शत्रुधन महतो र प्रमोद यादवले लिए मन्त्री पदको शपथ

जनकपुरधाम, ५ मंसिर ।
प्रदेशसभा २ मा नेकपा (एकीकृत समाजवादी) संसदीय दलका नेता शत्रुधन महतो र पार्टीका तर्फबाट प्रदेशसभा सदस्य प्रमोदकुमार यादवले प्रदेश २ सरकारका मन्त्रीका रूपमा पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् ।

आइतबार बिहान मधेस भवनस्थित कभर्ड हलमा आयोजित समारोहमा महतोले उद्योग, पर्यटन तथा वन र यादवले कानुन, न्याय तथा प्रदेशसभा मामिला मन्त्रीका रूपमा शपथग्रहण गरेका हुन् ।

उनीहरूलाई मुख्यमन्त्री लालबाबु राउतको उपस्थितिमा प्रदेश प्रमुख हरिशंकर मिश्रले शपथ गराए ।

नवनियुक्त मन्त्रीहरूले कानुन अभावमा नेपाली भाषामै शपथ लिएका छन् । मन्त्री महतो मैथिली भाषा, साहित्य र सँस्कृति अभियानी पनि हुन् ।
शपथसँगै केन्द्रीय सत्ता गठबन्धनका नेकपा(एस) पनि प्रदेश २ सरकारमा सहभागी भएको छ ।

प्रदेशमा सत्ता नेतृत्व गर्ने जनता समाजवादी पार्टी (जसपा) नेपाल र नेकपा(एस) का बीच मन्त्रालय बाँडफाँडमा कुरा नमिल्दा नेकपा(एस) को प्रदेश सरकारमा सहभागिता हुन सकिरहेको थिएन ।

दुवै पार्टीबीच उच्च तहमै वार्ता भएर मन्त्रालय र मन्त्री सँख्याको छिनोफानो भएपछि नेकपा (एस) सरकारमा सहभागी भएको हो ।

नेकपा (एस) लाई सरकारमा सहभागी गराउन मुख्यमन्त्री राउतले जसपा नेपालकै तर्फबाट उद्योग, पर्यटन तथा वन मन्त्री रहेका रामनरेश रायलाई केही दिनअघि पदमुक्त गरेका थिए ।

शपथग्रहणलगत्तै मन्त्रीहरूले आआफ्ना मन्त्रालयका कार्यभार सम्हाल्नेछन् ।

शपथग्रहण समारोहमा प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादव, आन्तरिक मामिला तथा सञ्चार मन्त्री भरतप्रसाद साह, अर्थमन्त्री शैलेन्द्रप्रसाद लगायतका मन्त्रिपरिषद् सदस्य सहभागी भएका छन् ।

 


Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!