अहिलेका


मुख्यमन्त्रीले सदनमा पेस गरे साइकल खरिद विवरण फरक


जनकपुरधाम, २२ असोज ।

प्रदेश २ को लालबाबु राउत सरकारले साइकल खरिदमा अनियमितता गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापामारेपछि प्रतिपक्ष दल समेतले राजिनामा माग गरिरहेको बेला अनियमितता नभएको दावी गर्दै स्पष्टिकरण दिएका छन् ।

बेटी पढाउ बेटी बचाउन कार्यक्रम अभियान अन्तर्गत वितरणका लागि खरिद गरिएको साइकलमा अनियमितता नभएको भन्दै मुख्यमन्त्री सञ्चार सचिवालयले नियमसंगत साइकल वितरण गरिएको भनि सत्य तथ्य प्रमाण सहित एक अभिलेख सार्वजनिक समेत गरे ।

मुख्यमन्त्री राउतले भने बुधबारको सदनमा प्रस्तुत गरेको तथ्यांक र मुख्यमन्त्री सञ्चार सचिवालयले प्रस्तुत गरेको तथ्यांकनपनि भिन्नता छ ।

तर, राउतले सदनमा प्रस्तुत गरेको प्रमाण र मुख्यमन्त्री तथा मुख्यमन्त्री कार्यालयले उपलब्ध गराएको तथ्यांकमा साइकल खरिदको पहिलो चरणमै ३ करोड रुपैयाँ भन्दा बढिको रकम भिन्नता देखिन्छ । मुख्यमन्त्री राउतले सदनमा प्रस्तुत गर्दा श्रीओम सत्य साइ प्रालिसँग पहिलो पटकको १७ हजार २ सय ३८ थान साइकल खरिदका लागि भ्याट बाहेक १३ करोड २७ लाख ३२ हजार ६०० रुपैयाँ भुक्तानी गरिएको जनाइएको छ ।

यस रकममा भ्याट जोड्दा १४ करोड ९९ लाख ८७ हजार ८ सय ८३ रुपैँया हुन्छ । मुख्यमन्त्री राउतले उपलब्ध गराएको प्रमाण अनुसार प्रति साइकल खरिद ५ हजार ७ सयको दर रहेकोछ ।

तर, सूचना अभियन्ता सरोज मिश्रलाई २०७८ साउन २१ गते मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका आठौं तहका अधिकृत सुरेन्द्र कुमार कर्णले उपलब्ध गराएको चलानी नम्बर ९० को पत्रले साइकल खरिद सम्बन्धमा उपलब्ध गराएको तथ्यांकमा साइकलको संख्या र रकममा फरक छ ।

मन्त्रिपरिषदको कार्यालयले उपलब्ध गराएको अनुसार १७ हजार २६२ थान मात्रै देखिन्छ ।
जुन मुख्यमन्त्रीको तथ्यांक अनुसार २४ थानले फरक हुन आउँछ । कार्यालयले भ्याटसहित ११ करोड १० लाख २९ हजार ९५८ रुपैयाँ भुक्तानी रकम देखाइएको छ ।

मुख्यमन्त्री राउतले सदनमा प्रस्तुत गरेको तथ्य र मन्त्रिपरिषदको कार्यालयले उपलब्ध गराएको तथ्यांकमा पहिलो चरणको साइकल खरिदमा ३ करोड ८९ लाख ५७ हजार ८ सय ८० रुपैयाँ फरक भुक्तानी भएको देखिन्छ ।

मुख्यमन्त्री राउतले सदनलाई समेत ढाटेर प्रमाण सहित पेसको गरिएको साइकल खरिदमा अनियमितता भएको कागजातले पुष्टि गरेको छ ।


Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!