जनकपुरधाम, २६ कात्तिक ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा कानून व्यवसायीहरुको अवरोध छिचोल्दै सर्वोच्च अदालत प्रवेश गरेका छन् ।
उनी सर्वोच्च अदालतको १ नम्बर गेटबाट अदालत प्रवेश गरेका हुन् । नेपाल बार एसोसिएसनका कानून व्यवसायीहरुले सर्वोच्च अदालतको मुख्य गेटमा धर्ना दिँदै उनलाई प्रवेश गर्न नदिएपछि उनी चोरबाटो हुँदै प्रवेश गरेका छन् ।
प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै सर्वोच्च अदालतका अधिकांश न्यायाधीश, सर्वोच्च बार र नेपाल बार एसोसिएसन तीन सातादेखि आन्दोलनमा उत्रिँदै आएका छन् । शुक्रबार कानुन व्यवसायीले प्रधानन्यायाधीशलाई अदालत प्रवेशमा निषेध गर्ने भन्दै धर्ना दिएपछि प्रहरीले मुख्य गेट बन्द गरेर कानुन व्यवसायीमाथि हस्तक्षेप गरेको थियो ।
११ बज्न लाग्दासम्म अदालत प्रवेश गर्न नसकेका प्रधानन्यायाधीश जबराले बालुवाटारस्थित निवासबाटै दैनिक पेशी सूची तयार पारेका छन् । करिब ११ बज्नै लाग्दा उनी अरु बेला बन्द रहने महान्यायाधिवक्ता कार्यालय छेउको गेट खोज्न लगाएर कानुन व्यवसायीको धर्नालाई छल्दै अदालत छिरेका हुन् ।
न्यायालयमा चर्किएको आन्दोलनले सेवाग्राहीसमेत मर्कामा पर्न थालेपछि राजनीति दल र सरकारले समेत अदालतको समस्याबारे चासो दिन थालेका छन् ।
सोही क्रममा बिहीबार र शुक्रबार सिंहदरबार र बालुवाटारमा अदालतको संकटबारे सरकारी अधिकारीहरुले छलफल गरेका छन् । शुक्रबार प्रधानमन्त्री र कानुनमन्त्रीबीच छलफल जारी रहेको छ ।
