काठमाडौं, २५ कात्तिक ।
मुख्य सत्तारुढ दल नेपाली काँग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले आफूनिकट नेताहरूसँग पार्टीको आसन्न महाधिवेशनका बारेमा छलफल गर्ने भएका छन् ।
उनले अबको केही बेरपछि कांग्रेसका पदाधिकारीलाई छलफलका लागि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलाएका छन् ।
पार्टीको १४ औं महाधिवेशन नजिकिँदै जाँदा सभापति देउवाले महाधिवेशनका कार्यक्रम व्यवस्थापनका बारेमा बारेमा प्रारम्भिक छलफल गर्ने बताइएको छ ।
सभापति देउवाले पार्टीभित्र द्वन्द्व तथा मनभिन्नता नहुनेगरी निर्वाचनका कार्यक्रम सम्पन्न गर्न आवश्यक तयारी र समझदारीका बारेमा बैठकमा परामर्श गर्ने बताइएको छ ।
बैठकमा पार्टीको संस्थापन पक्ष एकजुट भएर नेतृत्वमा दाबी गर्न उनले आह्वान गर्ने बालुवाटार स्रोतले जनाएको छ ।
बैठकमा पार्टीका उपसभापतिद्वय विमलेन्द्र निधि र विजयकुमार गच्छदार, महामन्त्री पूर्णबहादुर खड्का, सहमहामन्त्री प्रकाशशरण महतलगायतका नेता सहभागी हुने भएका छन् । कांग्रेसको केन्द्रीय महाधिवेशन मंसिर २४ गतेदेखि काठमाडौंमा हुँदैछ ।
