अहिलेका


प्रधानमन्त्री देउवा र गायक उदीतनारायणको भेट जनकपुरमा हुने !

प्रशोधक समाचारदाता / जनकपुरधाम, ४ चैत ।
प्रधानमन्त्री शेरबहादुर देउवा र बलिउडका प्रख्यात गायक उदीतनारायण झा जनकपुरधामको एउटै मञ्चमा देखिने सम्भावना बढेर गएको छ । चैतको अन्तिम सातामा जनकपुरधाममा आयोजना हुने जनकपुर साहित्य-कला तथा नाट्य महोत्सवको उद्घाटनसत्रमा प्रधानमन्त्री देउवा र गायक झाले मञ्च साझा गर्ने साइत जुर्न सक्ने बताइएको छ ।

महोत्सव उद्घाटनका लागि प्रधानमन्त्री देउवालाई आयोजक मैथिली विकास मञ्चले चार दिनअघि औपचारिक निम्तो दिइसकेको छ भने महोत्सवमा सरिक हुन गायक झालाई नेपाल बोलाउनका लागि उनीनिकट व्यक्तिहरूसँग निरन्तर सम्पर्क भइरहेको छ ।

मञ्चका अध्यक्ष जीवनाथ चौधरीले आसन्न स्थानीय निर्वाचनका लागि काँग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाको व्यस्तता अलिक बढी नै भए पनि उनले महोत्सव उद्घाटनका लागि जनकपुरधाम आउने आश्वासन दिएको बताए । उनले भने, ‘प्रत्यक्ष भेटघाट गरेरै प्रधानमन्त्रीज्यूलाई निम्तो दिएका छौं । उहाँले जनकपुरधाम आउने इच्छा पनि व्यक्त गर्नुभएको छ । समय अनुकूल भयो भने प्रधानमन्त्रीज्यूले नै महोत्सव उद्घाटन गर्नुहुनेछ ।’

सप्तरीका भारदह निवासी गायक उदीतनारायण मुम्बईमा संगीत शिक्षा आर्जन गर्नेक्रममा उतै स्थापित भएका हुन् । मधेस र मिथिलाञ्चलका सर्जकहरूसँग सहकार्य गर्दैआएका उदीतलाई जनकपुरधाममा बोलाउन सकिएको छैन । अध्यक्ष चौधरीले महोत्सवमा सहभागी हुन उदीतनारायण जनकपुरधाम आउने प्रबल सम्भावना रहेको बताए । ‘तर औपचारिक रूपमै आउने जानकारी प्राप्त नहुँदासम्म किटेरै भन्न सक्ने स्थिति छैन,’ उनले भने ।

उनले भने, ‘प्रत्यक्ष भेटघाट गरेरै प्रधानमन्त्रीज्यूलाई निम्तो दिएका छौं । उहाँले जनकपुरधाम आउने इच्छा पनि व्यक्त गर्नुभएको छ । समय अनुकूल भयो भने प्रधानमन्त्रीज्यूले नै महोत्सव उद्घाटन गर्नुहुनेछ ।’

चैत २३ गतेदेखि २५ गतेसम्म जनकपुरधाममा आयोजना हुने त्रिदिवसीय महोत्सवमा नेपाल, बंगलादेश र भारतका संस्थाद्वारा जनकपुर उद्योग वाणिज्य संघको सभाकक्षमा नाटक प्रदर्शन गरिनेछन् भने महोत्सवका अन्य कार्यक्रम जानकी मन्दिर परिसरमा हुनेछन् ।

 

महोत्सवमा प्रदर्शन हुने नाटकमा मैथिली भाषालाई प्राथमिकता दिइए पनि हिन्दी, भोजपुरी र नेपाली भाषाका नाटकसमेत समेटिने अध्यक्ष चौधरीले जानकारी दिए । महोत्सवका अघिल्ला संस्करणमा समेत मैथिलीबाहेकका भाषामा नाटक प्रदर्शन गरिएका थिए । यसअघि नाटक प्रदर्शनका लागि अफगानिस्तानबाट समेत टोली आएको थियो ।

महोत्सवका तीनै दिन सास्कृतिक कार्यक्रम हुनेछन् । जसमा नेपाल र भारतका ख्यातिप्राप्त कलाकारहरू कुञ्जबिहारी, पुनम मिश्र, सुनिल मल्लिक, आभास लाभ, ममता पण्डित आदिको सहभागिता हुनेछ ।

महोत्सवमा मिथिला लोकचित्रकला प्रदर्शनी समेत हुनेछ । प्रदर्शनी अलिक फरक ढंगबाट हुने अध्यक्ष चौधरीले बताए । उनले भने, ‘कलाकारहरूबाट महोत्सवस्थलमै चित्र कोरिने र प्रदर्शनीमा राखिनेछन् ।’

महोत्सवमा मैथिली पुस्तक प्रदर्शनी र मिथिला भोजनको समेत व्यवस्था गरिनेछ ।

विभिन्न भाषिक झाँकी प्रदर्शनपछि आरम्भ गरिने महोत्सवमा सहित्य, सँस्कृति, कला, दर्शन, राजनीति र जीवनशैली विषयमा विमर्शसमेत हुनेछन् ।


Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!