प्रशोधक समाचारदाता/जनकपुरधाम, १७ चैत ।
प्रादेशिक अस्पताल जनकपुरधामको मेडिकल सुपरिटेन्डेन्ट बस्ने कार्यकक्षमा मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिको कार्यालय स्थापना गरिएको छ । अस्पताल परिसरको दक्षिणतर्फ रहेको नयाँ भवनको माथ्लो तल्लामा रहेको मेडिकल सुपरिटेन्डेन्टको कार्यकक्षमा प्रतिष्ठानका उपकुलपति डा.रामकेवल साहले बिहीबारबाट कार्यारम्भ गरेका छन् ।
यसअघि उपकुलपति, शिक्षाध्यक्ष र रजिस्ट्रार बस्ने गरी प्रतिष्ठानको कार्यालय उत्तरतर्फको भवनमा व्यवस्था गरिएको थियो । शिक्षण अीपतालका रूपमा प्रादेशिक अस्पताल गत चैत ६ गते प्रतिष्ठानलाई हस्तान्तरण गरिएपछि उपकुलपति डा.साह नयाँ कार्यकक्षमा सरेका हुन् ।
अस्पतालका तत्कालीन मेडिकल सुपरिटेन्डेन्ट डा.प्रमोदकुमार यादव बिदामा बसेका बेला उपकुलपति डा.साह नयाँ भवनमा कार्यकक्ष सञ्चालन गरेका हुन् । डा.यादव हिजोबाट चार दिनका लागि बिदामा छन् ।
‘सामान्यतया अस्पताल निर्देशक बस्नुपर्ने कार्यकक्षलाई उपकुलपति डा.साहले छापामार शैलीमा कब्जा गरेका छन् । यसले नेतृत्वको हतारो र कमजोर मनस्थितिलाई दर्शाउँछ,’ प्रतिष्ठानका एक कर्मचारीले भने । डा.साहले प्रयोग सुरु गरेको कार्यकक्षमा अझै अस्पतालका तत्कालीन मेडिकल सुपरिटेन्डेन्ट डा.प्रमोदसहितको तस्बिर कुर्सीपछाडिको पर्खालमा टाँसिएको छ ।
अस्पतालका तत्कालीन मेडिकल सुपरिटेन्डेन्ट डा.यादवले मेसु वा नयाँ व्यवस्थाअनुसार अस्पताल निर्देशकले उपयोग गर्नुपर्ने कार्यकक्ष उपकुलपतिले प्रयोग गर्नु आश्चर्यजनक भएको बताए । ‘यसले उपकुलपति पदको गरिमा घटेको छ,’ डा.प्रमोदले भने ।
प्रतिष्ठानअन्नतर्गतको अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट रहने व्यवस्था छैन । प्रतिष्ठान पदाधिकारीसमेत हुनेगरी अस्पताल निर्देशक रहने प्रावधान छ । पाँच वर्षका लागि नियुक्त हुने अस्पताल निर्देशक उपकुलपतिको सिफारिसमा सहकुलपति(प्रदेशका सामाजिक विकास मन्त्री) ले नियुक्त गर्ने कानुनी व्यवस्था छ ।
नयाँ कार्यकक्षमा सरेपछि डा.साहले प्रदेश सरकारले प्रतिष्ठानलाई प्रादेशिक अस्पतालमा हस्तान्तरण गरिसकेपछि पदाधिकारीहरूको कार्यकक्ष व्यवस्थापन गर्ने सिलसिलामा उपकुलपति कार्यालय नयाँ भवनमा ल्याइएको बताए । उनले भने, ‘यो सामान्य प्रक्रिया हो ।’
डा.साहले अस्पतालको भौतिक अवस्थामा सुधार, स्तरोन्नति र कर्मचारी व्यवस्थापन आफ्नो पहिलो प्राथमिकता रहेको समेत बताए ।
