जनकपुरधाम, १८ असोज ।
भारतीय काँग्रेसकी महासचिव प्रियंका गान्धीलाई प्रहरीले पक्राउ गरेको छ । उत्तरप्रदेशमा पर्ने सीतापुरको हरगाउँबाट आज बिहान करिब साढे पाँच बजे गान्धीलाई प्रहरीले हिरासतमा लिएको हो ।
उत्तर प्रदेशको लखिमपुर खिरी भन्ने स्थानमा जारी किसान आन्दोलनमा सहभागी हुन जाने क्रममा प्रहरीले गान्धीलाई नियन्त्रणमा लिएको बताइएको छ ।
आन्दोलनमा सहभागी हुन नदिन गान्धीलाई लखनउमै रोक्ने प्रयास असफल भएपछि सीतापुरको हरगाउँबाट प्रहरीले उनलाई नियन्त्रणमा लिएको छ । गान्धीलाई लखनउमै पक्राउ गर्नेक्रममा केहीबेर कांग्रेस कार्यकर्ता र प्रहरीबीच झड्प पनि भएको थियो । गान्धीले प्रहरीलाई छल्दै केहीबेर पैदल हिंडेर गाडीमा चढिन् र लखिमपुर खिरी प्रस्थान गरिन् ।
प्रहरीले गान्धीलाई पक्रनका लागि सडकका विभिन्न ठाउँमा चेकिङ प्वाइन्ट खडा गरी गाडी जाँच गर्दै आएको थियो । सोही क्रममा सीतापुरको हरगाउँमा फेला पारेर प्रहरीले उनलाई हिरासतमा लिएको हो ।
भारतीय सञ्चारमाध्यहरूका अनुसार गान्धीलाई मन्दिर मार्गस्थित प्रहरी चौकीमा आधा घन्टा हिरासतमा राखेर छाडिएको छ ।
भारत सरकारले ल्याएको कृषि कानुनविरुद्ध किसानहरू लामो समयदेखि आन्दोलनमा छन् । सोही आन्दोलनको क्रममा उत्तरप्रदेशको लखिमपुर खिरी भन्ने स्थानमा हालै एक व्यक्तिले किसानहरूलाई गाडीले कुल्चिएको र सो घटनामा परी तीनजनाको मृत्यु भएको दाबी गरिएको छ । यद्यपि प्रहरी प्रशासनले केही व्यक्ति घाइते भएको भने पनि मृत्युको पुष्टि गरेको छैन ।
