अहिलेका

फिल्म वितरक झा बने कहिले डिआइजी त कहिले हबल्दार !

प्रशोधक समाचारदाता/जनकपुरधाम, २७ चैत ।
दर्जा बदलिरहने तर पेसा एउटै हुने चलचित्रका पात्र हुन् किशोर झा । कुनै बेला प्रहरीका डिआइजी त कुनै बेला हबल्दारका भूमिका देखिने झा जनकपुरधामका निवासी हुन् । वितरकका रूपमा चलचित्र फाँटमा क्रियाशील झा पछिल्लो समय नेपाली र भोजपुरीलगायत भाषाका सिनेमामा देखिन थालेका हुन् ।

कलाकार किशोर झा(देब्रे) भोजपुरी सुपरस्टार दिनेशलाल यादव र आम्रपाली दुवेसँग ।

प्रहरीका रूपमा उनको जिउडाल, अभिनय र संवादशैली दुरुस्त छ । त्यसैले निर्देशकहरूले पनि उनलाई चलचित्रमा प्रहरीकै भूमिका दिन्छन् । उनलाई प्रहरी बन्न सुहाउँछ पनि । उनै किशोर हिजोआज भोजपुरी भाषाका चलचित्र ‘निरहुआ बनल करोडपति’ मा प्रहरी निरीक्षक बन्दैछन् । लागुऔषध दुव्र्यसनमा जबर्जस्ती फसाइएका नायिकालाई उद्धार गर्ने प्रहरी टोलीका एक सदस्य ।

पत्रकार विजयकुमार साह भन्छन्, ‘प्रहरीको जीवन र पेसागत शैलीलाई कलाकार झाले राम्ररी पछ्याउने गरेका छन् । चलचित्रमा देखिने किशोर प्रहरी होइनन् भन्ने कुरा पत्याउनै गाह्रो हुन्छ ।

भोजपुरी चलचित्रका सुपरस्टार दिनेशलाल यादव निरहुआ र आम्रपाली दुवे मुख्य भूमिकामा रहेको चलचित्र ‘निरहुआ बनल करोडपति’ का निर्देशक हुन् मनोज नारायण । सीमावर्ती भारतीय सहर रक्सौलका मनोजले तीन दर्जनभन्दा बढी ठूलो पर्दाका भोजपुरी चलचित्रमा निर्देशन गरिसकेका छन् । उनको निर्देशनमा बनिरहेको ‘निरहुआ बनल करोडपति’ मा भारत र नेपाल दुवै ठाउँका आपराधिक वृत्ति र तिनमा निर्दोष व्यक्ति फस्ने उपक्रम देखाइनेछ ।

चलचित्र निरहुआ बनल करोडपतिमा कलाकार किशोर झा प्रहरी निरीक्षकको भूमिकामा ।

अपराधीहरूले आफ्ना लाभका लागि कसरी आम्रपाली दुवेलाई नेपालमा लागुऔषधको कुलतमा फसाएको र उनलाई उद्धार गर्न नायक दिनेशलालले गरेका प्रयासमा आधारित यो चलचित्र करिब पाँच करोड रुपैयाँको लगानीमा बनिरहेको छ ।

काठमाडौं र चितवनको सौराहामा अधिकांश दृश्य खिचिने चलचित्रमा भारतीय कलाकार एजाज खानका अतिरिक्त नेपाली कलाकारहरू झा र सुशील देवकोटालगायत छन् ।


Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!