अहिलेका


बटेश्वर गाउँपालिकामा कर्मचारीले नै गरे तालाबन्दी

जनकपुरधाम, २५ असोज ।

धनुषाको बटेश्वर गाउँपालिकाका कर्मचारीहरुले कार्यालयमा तालाबन्दी गरेका छन् ।

बालविकास शिक्षक तथा कर्मचारीहरुले तलव वृद्धिको माग गर्दै सोमबार बटेश्वर गाउँपालिकाका सम्पूर्ण बालविकास शिक्षक÷शिक्षिकाले गाउँपालिकाको मूलढोकामा ताला लगाएका हुन् ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले घोषणा गरेको बजेट भाषणबाट देशभरका सम्पूर्ण सामुदायिक विद्यालयका कार्यालय सहयोगी र बालबिकासमा कार्यरत्त शिक्षक÷शिक्षकाको तलब वृद्धि गरेर १५ हजार दिने घोषणा गरेका थिए ।

१५ हजारमा ८ हजार रुपैयाँ संघीय सरकारले र ७ हजार रुपैयाँ स्थानीय सरकारले दिने गरी बजेट भाषण भएपनि स्थानीय सरकारले आफूहरूको तलव वृद्धि नगरेकोले तालाबन्दी गर्नुपरेको आन्दोलनरत कर्मचारी राजकुमार महतोले टुडेपाटीलाई बताए ।

‘गएको जेठमा तत्कालीन ओली सरकारले गरेको बजेट भाषणबाट निमावि तर्फका र मावि तर्फका कार्यालय सहयोगीको तलब वृद्धि गरेर १५ हजार निर्धारण गर्नुभयो ।’, उनले भने, ‘१५ हजारमा ८ हजार संघीय सरकार र ७ हजार स्थानीय सरकारले दिने कुरा थियोे ।
तर, स्थानीय सरकारले दिएनन् ।’
आन्दोलनरत शिक्षक कर्मचारीहरुले सरकारले तोकेअनुसारको तलव उपलब्ध गराउन आग्रह गरेका छन् ।
सरकारले आर्थिक बर्ष २०७८÷०७९ को घोषित बजेट अनुसार तलवभत्ता पाउनुपर्ने माग गर्दै आन्दोलनमा उत्रिएको आन्दोलनरत शिक्षिका कुशम महतोले बताइन् ।

‘छिमेकी स्थानीय तहहरुले नेपाल सरकारले घोषणा गरे बमोजिमको तलब वृद्धि गरेपनि यो गाउँपालिकाले आयव्यय नभएको कारण देखाउदै तलब दिन पन्छिएको छ ।’, उनले भनिन् ।

आन्दोलनरत शिक्षक तथा कर्मचारीहरुले स्थानीय तहले समयमै माग सम्बोधन नगरे गाउँपालिकाभरका सबै सामुदायिक विद्यालयहरु बन्द गरेर सशक्त आन्दोलनमा उत्रिने चेतावनीसमेत दिएका छन् ।

यता बटेश्वर गाउँपालिकाका शिक्षा शाखा प्रमुख रामलाल महतोले आन्दोलनरत्त शिक्षक तथा कर्मचारीहरुबीच कात्तिक ११ गते बैठक बस्ने गरी सहमति भएको बताएका छन् ।


Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!