विजय साह
जनकपुरधाम, ८ फागुन ।
धनुषास्थित बटेश्वर गाउँपालिकाको बटेश्वरमा निर्माण भइरहेको अस्पताल भवनमा कमसल सामान प्रयोग भएको भन्दै स्थानीयले काममा रोक लगाएको छ । आठ करोड रुपैयाँको लागतमा निर्माण भइरहेको सो अस्पताल भवनमा मापदण्डविपरीत इँटाको प्रयोग तथा जडानमा कम अनुपातमा सिमेन्टको प्रयोग गरेको भन्दै स्थानीयले काममा रोक लगाएको हो ।
संघ सरकारको बजेटबाट निर्माण भइरहेको सो भवन निर्माणको ठेक्का ओमबुद्ध हरितारा भेनस जेभी निर्माण कम्पनीले पाएको छ । बटेश्वर गाउँपालिकाको कार्यालयले टेन्डर प्रक्रियाबाट ओमबुद्ध निर्माण कम्पनीलाई कामको ठेक्का दिएको छ ।
ठेकेदार कम्पनीले एक नम्बर इटा प्रयोग गर्नुपर्नेमा तीन नम्बर इँटा प्रयोग गर्न लागेको र ढलान तथा जडानमा समेत सिमेन्टको मात्रा कम हाल्ने गरेको छ । यस विषयमा गाउँपालिका प्रमुख डम्बरबहादुर राउत क्षेत्रीलगायत सरोकारवाला निकायलाई ध्यानाकर्षण गराइएको भए पनि काममा सुधार नगरेकाले स्थानीयले गुणस्तरीय कामको माग गर्दै भवन निर्माणमा तत्काल रोक लगाएको स्थानीय राजकिशोर महतोले बताए ।
‘निर्माणस्थलमा तीन ट्रक तीन नम्बर इँटा खसालिएको छ । सोही इँटाबाट भवनको पर्खाल ठड्याउने काम गर्न लागेपछि हामीले रोकेका हौं,’ स्थानीय महतोले भने, ‘अस्पतालजस्तो संवेदनशील भवन मापदण्डअनुसार गुणस्तरीय बन्नुपर्ने हाम्रो माग छ ।’
निर्माण कम्पनीका साइट सुपरभाइजर रामईश्वर यादवले गल्तीले तीन नम्बर इँटा खसालिएको भए पनि प्रयोग नगरेको बताए । उनले इँटा फ्याक्ट्रीले अरू ठाउँ पठाउनुपर्ने इँटा यहाँ खसालेको र यहाँ मापदण्डअनुसारकै काम भइरहेको दाबी गरे ।
नगरपालिकाका इन्जिनियर जितेन्द्रकुमार यादवले दुई महिनादेखि अधिकृत रामजी जोशीले मौखिक रूपमा आफूलाई योजनाको कामकाज गर्न रोक लगाएको बताए । अधिकृत जोशीले करारमा नियुक्त इन्जिनीयर सरोजसत्याल कुशवाहालाई योजनाको जिम्मेवारी दिएकाले यथार्थ भन्न नसकिने उनको भनाइ छ ।
अस्पताल निर्माणमा कमसल सामान प्रयोगबारे जनगुनासो बढेपछि निर्माणस्थलको अवलोकन गरेको र त्यहाँ खसालिएको इँटा प्रयोग नर्गन ठेकेदार पक्षलाई भनेको पनि इन्जिनीयर यादवले जानकारी दिए ।
बटेश्वर गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर क्षेत्री राउतले अस्पताल निर्माणमा दुई वा तीन नम्बर इँटाको प्रयोग नभएको बताए । निर्माण कम्पनीले अरू ठाउँमा लैजानुपर्ने इँटा यहाँ खसालेकाले त्यसैलाई विपक्षी पार्टीले विरोधको मेसो पाएको उनले दाबी गरे । ठेकेदार कम्पनीलाई त्यहाँ खसालिएका इँटा छिटो हटाउन भनेको भन्दै अध्यक्ष राउतले गुणस्तरीय निर्माणको पक्षमा आफू पनि रहेको पनि उल्लेख गरे ।
