अनिलकुमार कर्ण/प्रशोधक
जनकपुरधाम, २० जेठ ।
पञ्चायतका बेला भूमिगत वा अद्र्धभूमिगत हुँदा कम्युनिस्ट नेताहरूले बरदघाटका बासिन्दालाई भन्ने गर्थे, ‘रातो घर हेर्यौ, तिमी गरीबको रगतले बनाइएको हो । सेतो घर हेर्यौ, तिम्रा हड्डी पिसेर बनाइएको हो ।’
जसको जोत उसैको पोत भन्दै कम्युनिस्ट क्रान्तिकारीहरूले जिमिदारलाई कुत बुझाउन नपर्ने भनिरहेका बेला बर्दघाट अर्थात् अहिलेको बर्दिवास साँच्चिकै लालकिल्लामा परिणत भइरहेको थियो । कम्युनिस्ट आन्दोलनको उर्वर र प्रेरक भूमि बन्दै गएको बर्दिवासमा पञ्चायतकालीन टाठा र तागतिला नेता थिए निरबहादुर हमाल । पहिलोपटक विसं २००९ तिर जंगल फडानी भएर बर्दिवासमा बस्ती विस्तार गर्ने काम गरेका रवाफिला नेता हमालले सतहमै आउनेगरी भने कम्युनिस्टको प्रभाव विस्तार हुन दिएनन् । यद्यपि हमालका घरअगाडि नै संयुक्त जनमोर्चा नेपालका नेता निर्मल लामा आफन्तकहाँ बसेर संगठन विस्तारमा लागेका थिए ।

उदयपुरबाट बर्दघाट आएका हमालहरूले सबैभन्दा पहिला गौरीडाँडा फडानी गरेका थिए । त्यहाँको जग्गा नम्बरी बनाइयो । तर, बाघचितुवाको डर तथा पानी अभावलगायतका समस्याका कारण डाँडामा बस्ती बसेन । पछि कुत बुझाउन नसकेपछि राणालाई एक टिन घिउ र केही पैसा चढाएर हमालले डाँडाको जग्गाको लगतकट्टा गराए र त्यहाँको केही जग्गाबाहेक सबै फेरि ऐलानीमा परिणत भयो ।
सुरुवाती दिनमा डाँडामा बसोबास गरेका हमाललगायतले तलतिर बसाइँ सरे । सिरहा बस्तीपुरका गौरीनारायण गिरीको कामतनजिक हमालको घर थियो । अझै छ । खासमा गौरीनारायण गिरी गोलिया काठ ओसार्ने ब्रिटिसकालीन भारतीय सहयोगबाट सञ्चालनमा आएको जनकपुर–जयनगर रेल्वेका ठेकेदार थिए । उनकै नाममा अहिलेको गौरीडाँडा नामकरण भएको हो । विसं दसको दशकमा पहिलोपटक बर्दिवास आवाद भइरहँदा उदयपुरका अतिरिक्त रामेछाप, दोलखा र सिन्धुलीबाट बसाइँ सरेर आउनेहरूको सँख्या उल्लेख्य थियो । पछिल्ला दिनमा अन्यत्रबाट आएकाहरूमा पनि यिनै जिल्लाका बासिन्दाको बहुलता छ ।
आजको जनसाँख्यिक विवरणअनुसार ६० प्रतिशत पहाडी मूलका र ४० प्रतिशत मधेसी मूलका व्यक्तिहरूको बसोबास रहेको बर्दिवासमा बस्ती व्यवस्थित हुनुअगावै दक्षिणी फाँटबाट मास्तिर आएर पशुपालन गर्ने अभ्यास थियो । बर्दिवासमा बसोबास गरिरहेका वरिष्ठ पत्रकार गोपाल बरालका अनुसार सय वर्षअघि तल्तिरका बासिन्दाहरू बयलगाडा लिएर काठपात र दाउराका लागि बर्दिवासमा आउने गर्थे । बर्दिवासमा हटियापोखरी नजिक घाट थियो । जहाँ उनीहरू बास बस्थे । पछि तिनै व्यक्तिहरू चरणका लागि गाईगोठ लगाउन थाले । जसलाई कामत भनिन्थ्यो । पछि हिउँद र बर्खा दुवै मौसममा बर्दघाटमा गाईगोठ लगाउन सजिलो हुनेहुँदा यसक्षेत्रमा मानिसको उठबस हुन थालेको बुझाइ बरालको छ ।
खोला, खोल्साखोल्सी, गल्छी आदिले गर्दा पर्याप्त पानी पाइने हुँदा त्यतिबेलै यस ठाउँमा पशुपालनसँगै खेतीपाती आरम्भ भएको थियो ।
विसं २०४६ को जनआन्दोलनपछि बर्दिवास कम्युनिस्टको गढ नै बन्यो । हुनेखाने र टाठाबाठाहरू काँग्रेस कहलिए भने शोषित, उत्पीडित र गरीबहरूको रोजाइमा कम्युनिस्ट नै पर्ने भयो । पञ्चायकालीन राजनीतिक शक्तिको झुकाव र संलग्नता काँग्रेसमै भयो । तर, काँग्रेसको संगठन भने यस ठाउँमा थिएन । भूमिगतकालमा प्रशिक्षित भएका कम्युनिस्टहरू भने थिए ।
२०४८ सालको आम निर्वाचनमा बर्दिवास क्षेत्रबाट काँग्रेसले विजयपताका फहरायो । खासमा निर्वाचनक्षेत्रको भूगोल उत्तरदक्षिण पसारिएको र दक्षिणी भेगमा मतदाता सँख्या अत्यधिक भएकाले त्यतिबेला काँग्रेसका नेता महेन्द्र यादवले कम्युनिस्ट नेता नीलाम्बर आचार्यलाई पराजित गर्दै विजयी भएका थिए । त्यसलगत्तै भएको स्थानीय तह निर्वाचन २०४९ मा काँग्रेसबाट तत्कालीन बर्दिवास गाउँविकास समिति अध्यक्षका उम्मेदवार भए तिनै निरबहादुर हमालका छोरा चिरञ्जीवी हमाल । गाविस अध्यक्षमा हमाल विजयी भए पनि उपाध्यक्षमा कुलबहादुर भुजेलसहित बहुसँख्यक कम्युनिस्टहरू नै निर्वाचित भए ।
स्थानीय निर्वाचन २०५४ सालमा अघिल्लो परिदृश्य नै दाहोरियो । चिरञ्जीवी फेरि पनि गाविस अध्यक्ष निर्वाचित भए । तर, उपाध्यक्षमा एमालेका रमेश पोखरेलसहित कम्युनिस्टहरूकै जित भयो ।
तीन तहको सरकार अर्थात् स्थानीय सरकारका रूपमा स्थानीय तह गठन भएपछि बर्दिवास नगरपालिकामा बर्दिवासका अतिरिक्त तत्कालीन गाविसहरू गौरीवास, माईस्थान, खयरमारा, हात्तिलेट, बिजलपुरा, पशुपतिनगर र किसाननगर गाभिए । ०७४ सालको स्थानीय तह निर्वाचनमा संयुक्त जनमोर्चा नेपालका मेयर उम्मेदवार विदुर कार्की निर्वाचित भए । काँग्रेसका मेयर उम्मेदवार प्रह्लाद क्षेत्री हजारको सँख्यामा मत ल्याउन नसकेर पछि परे । तर, कम्युनिस्टको किल्लामा काँग्रेसको सबल र भविष्योन्मुख प्रवेश भएको भने यतिबेलै हो ।
०७४ को निर्वाचनमा मेयर पदमा पराजित भएर पनि हौसिएका काँग्रेस उम्मेदवार क्षेत्रीले प्रदेशसभा सदस्य पदमा चुनाव लडे । तर, त्यसमा उनले सफलता प्राप्त गर्न सकेनन् । दुईपटकका दुई पदका चुनावमा पराजित क्षेत्रीले भने निर्वाचनमा हार भएको भोलिपल्टबाटै आउने चुनावका लागि तयारी थालेका थिए ।
झट्ट सुन्दा पत्यार नलाग्ने हुन सक्छ । तर, प्रदेशसभामा पराजित भएको अर्को दिन उनी मतदातासँग भलाकुसारी गर्न बर्दिवासको खयरमारा पुगेका थिए । ‘चुनावमा के पुगे र के पुगेनन् भन्ने पिरलोमा पर्नुभन्दा जनतामाझ गएर अर्कोपटकका लागि मतादेश माग्ने निर्णय नै मेरो जितको प्रस्थानबिन्दु बनेको हो,’ बर्दिवास मेयरमा निर्वाचित भएपछि केही दिनअघि क्षेत्रीले यस पंक्तिकारसँग भनेका थिए ।
मेयर पदमा निर्वाचित क्षेत्रीलाई चुनाव जित्नका लागि यसपटक सहज थियो । संगठन बलियो थियो र पार्टी नेता तथा कार्यकर्ताहरूमा अपूर्व उत्साह । पाँच वर्षसम्म जनतामाझ काम गरिरहँदा लोकप्रिय बनेका उनी चुनावी रणनीतिका आफैं पनि जानकार भइसकेका थिए । तर, अन्तिम क्षणमा पार्टीले टिकट खोस्यो । उनी निरुत्साहित भएनन् । जनताले पनि उनलाई उदासीन हुन दिएनन् । वडाध्यक्षलगायत सदस्यसमेत गरी कतिपय वडामा उनले प्यानल बनाई नै मेयर पदमा जित हासिल गरे । अझ नेकपा माओवादी केन्द्र र नेकपा एमालेका वडाध्यक्ष उम्मेदवारहरूले उनका लागि मत मागिदिए । वरिष्ठ पत्रकार बराल भन्छन्, ‘अन्य पार्टीका मतदाताले समेत माथि घोडा र तल वडा भन्न थाले ।’ माओवादी र एमालेको आधारक्षेत्रमा पनि क्षेत्रीले नै अग्रता लिएका थिए ।
क्षेत्री बर्दिवासका मेयर बनिसकेका छन् । पद तथा गोपनीयताको शपथग्रहण र कार्यभार सम्हाल्ने औपचारिकता पूरा भइसकेका छन् । चुनावताका जाग्राम भएर काम गर्ने क्षेत्री के गर्दैछन् ? उनका सहयोगी र सञ्चारकर्मी ललन मण्डल भन्छन्, ‘मेयरसाबको शब्दकोष र व्यवहारमा थकाइ भन्ने शब्द र स्थिति नै छैन । बरु सहकर्मीहरूलाई बसिबियाँलो गरुँजस्तो लाग्दो हो । तर उहाँ भने अहोरात्र काम गरिरहनुभएको छ ।’
निर्वाचित भएलगत्तै मतदाताका घरदैलामा पुगेका क्षेत्री असारको दोस्रो सातामा ल्याउनैपर्ने बजेट तयारीमा छन् । त्यसअघि उनले नगरपालिकाका कामकाज प्रभावकारी बनाउने खाका तयार गरी त्यसअनुरूप काम गर्न कर्मचारीलाई निर्देशन दिएका छन् । उनले कार्यअवधिभर नगरपालिका कार्यालयबाट आवास, सवारीसाधन र इन्धन सुविधा नलिने घोषणा गरेका छन् । त्यसबाहेक प्रमुखका रूपमा पाउने आर्थिक सुविधा र भत्ता रकमबाट प्रह्लाद क्षेत्री विपन्न सहायता अक्षयकोष गठन गरी त्यसको ब्याज रकमबाट गरीबगुरुवालाई आर्थिक सहायता प्रदान गर्ने भएका छन् ।
क्षेत्रीले प्रयोग नगर्ने सरकारी आवास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई दिइने भएको छ । यसबाट वार्षिक तीन लाख रुपैयाँ नगरपालिकालाई वचत हुनेछ । नगरप्रमुख क्षेत्रीले यसअघि मेयरले प्रयोग गर्दैआएको सवारीसाधनलाई एम्बुलेन्स बनाई प्रयोग गराउने घोषणासमेत गरेका छन् ।
बर्दिवास हरित नगरमा रूपान्तरण गर्ने र नगरभित्रका माईस्थान तथा टुटेश्वरनाथ मन्दिरलाई प्रदेशकै भव्य, दिव्य र आकर्षक पर्यटन स्थल बनाउने योजना सुनाएका क्षेत्री शुक्रबार नगरको वडा नम्बर ३ कालापानीस्थित सरस्वती मावि पुगेका छन् । सामुदायिक विद्यालयमा पुगेका उनले त्यहाँ शैक्षिक गुणस्तर सुधार्न गर्नुपर्ने उपायका बारेमा सरोकारवालाहरूसँग सल्लाह गरेका छन् । क्षेत्रीकै उपस्थितिमा वडाध्यक्ष विराज विष्टले प्रधानाध्यापकलाई भने, ‘शिक्षक भर्ना पारदर्शी बनाउनुस् । योग्य र सक्षम शिक्षकले अवसर पाउने गरी रीतपूर्वक भर्ना प्रक्रिया सम्पन्न गर्नुस् ।’
