काठमाडौं, २ मंसिर ।
नेपाल भ्रमणमा आएका भारतीय योगगुरु एवम् पञ्जली योगपीठका सञ्चालक स्वामी रामदेव तथा आचार्य बालकृष्णले नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग बिहीबार भेट गरेका छन् ।
राजधानीको खुमलटारस्थित प्रचण्ड निवासमा उनीहरूले अध्यक्ष दाहाललाई भेट गरेका हुन् ।
भेटघाटक्रममा स्वामी रामदेवले प्रचण्डपत्नी सीता दाहालको स्वास्थ्यलाभको कामना पनि गरेका छन् ।
सीता दाहाल पार्किन्सन जस्तो देखिने एक जटिल प्रकारको रोगले पीडित छिन् । त्यसलाई प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पी.एस.पी.) भनिन्छ ।
नेसनल हेल्थ सर्भिस ब्रिटेनका अनुसार पीएसपी एक दुर्लभ स्थिति हो । जसका कारण मानिसको मानसिक असन्तुलनका साथै हिँड्न, बोल्न र निल्नसमेत कठिन हुने गर्छ । मस्तिष्कको कोशिकामा क्षति हुँदा यस्तो समस्या देखिने चिकित्सकहरूको भनाइ छ ।
