अहिलेका


बिग्रिरहने दमकलअगाडि मोटरबाइक र स्कुटी

जनकपुरधाम, ८ असोज ।

जनकपुरधाम उपमहानगरपालिकाको पुरानो भवनमा एउटा कोठा छ । बारुणयन्त्र शाखा । त्यहीँ भेटिन्छन् दमकल चालक नरबहादुर मगर । उनी बस्नेखाने र सुत्ने कोठाकै पछाडिपट्टि पूर्वछेउमा ठूला गोठ देखिने पार्किंगमा दुईवटा बारुणयन्त्र देखिन्छन् ।

एउटा पुरानो र थोत्रो । अर्कोको अवस्था पनि जेनतेन सञ्चालन गर्ने खालको छ ।

तत्कालीन जनकपुर नगरपालिकामा ०४१ सालतिर बारुणयन्त्र चालकका रूपमा जागिरे भएका नरबहादुर बारुणयन्त्र छेउमै पुगेर भने, ‘सधैँ नै दमकल यसरी मोटरसाइकल र स्कुटीबाट घेरिएका हुन्छन् । आकस्मिक कामका लागि जानुपर्यो भन्ने मान्छे खोज्नै हैरान हुने स्थिति छ ।’

उपमहानगरपालिका कार्यालयका केही टाठा कर्मचारीहरूका लागि मोटरबाइक पार्किंग गर्ने थलो भएको छ बारुणयन्त्र राख्ने टहरो । ‘दुइटा दमकल छन् । तिनी पनि रुग्न । त्यसैले होला दमकलअगाडि अर्थोक पार्किंग गर्ने हेक्का नभएका,’ उपमहानगरपालिकाका एक कर्मचारी भन्छन् ।

 

सधैँ बिग्रिरहने जनकपुरधाम उपमहानगरपालिकाका दुई बारुणयन्त्र ।

नरबहादुरका अनुसार ०४८ सालअघि आएको एउटा दमकल अझ पनि प्रयोग गर्न मिल्छ । तर, पुरानो संरचनाका त्यो दमकल अहिलेको सडकमा गुडाउन कठिन नै छ । कर्मचारीकालमा ल्याइएको अर्को दमकलमा पनि घरिघरि प्राविधिक समस्या आइरहन्छन् ।

केही समयअघि जनकपुरको शिवचोकस्थित मिथिला डिपार्टमेन्ट स्टोरमा आगलागी हुँदा उपमहानगरपालिकाको दमकल नआउँदा मेयर लालकिशोर साहको अत्यधिक आलोचना भएको थियो । उपमहानगरपालिकाका दमकल बिग्रेका कारण अन्यत्रबाट बारुणयन्त्र मगाउनु परेको थियो ।

तीन दशकअघि इन्चार्ज, सुबेदार, जमदार, हवल्दार र सिपाही आदि दरबन्दीमा एक दर्जनभन्दा बढी कर्मचारी रहेको उपमहानगरपालिकाको बारुणयन्त्र शाखामा अहिले तीन चालक र एक सिपाहीमात्र कार्यरत छन् । आवश्यक परेका बेला छजना नगरप्रहरी दिने व्यवस्था मिलाइएको छ ।

 


Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!