८ पुस,
बुटवलमा आजदेखि चौथो राष्ट्रिय औद्योगिक प्रदर्शनी तथा व्यापार मेला शुरु हुँदैछ ।स्वाधीन अर्थतन्त्रको लागि राष्ट्रिय औद्योगिकरण तथा व्यापार विविधिकरण’ मूल नाराका साथ आजदेखि व्यापार मेला शुरु हुने उद्योग व्यापार संघ बुटवलका अध्यक्ष गोबिन्दराज गैरेले बताए ।
उनका अनुसार देवीनगर रंगशाला नजिकको खुलाचौरमा पुस २० गतेसम्म सञ्चालन हुने मेला बिहीबार दिउसो २ बजेपछि उद्घाटन गरिनेछ । मेलाका अवलोकनकर्तालाई स्यानिटाइजर र मास्क अनिवार्य गरेर प्रवेश गराउने अध्यक्ष गैरेले बताए ।
मेला उद्घाटनअघि बुटवल देवीनगर चौपारीबाट झाँकीसहितको र्यालीसमेत निकालिने उनले जानकारी दिए ।मेलामा स्वदेशी तथा विदेशी उद्योग, कृषि र पर्यटनका ४ सय ७० स्टल रहने संघका उद्योग उपाध्यक्ष विष्णु पाण्डेले बताए । मेला अवधिभर ५ लाख दर्शकले अवलोकन गर्ने र करिब ५० करोड कारोबार हुने संघकी कोषाध्यक्ष अन्जु पाण्डेले बताइन्।
मेलामा एक लाख रुपैयां पुरस्कार राशीको डान्स आइडल, विद्यालयस्तरीय नृत्य प्रतियोगिता, आमा नृत्य प्रतियोगिता र राष्ट्रिय कलाकारहरुको प्रस्तुति आकर्षण रहने सांस्कृतिक संयोजक यमलाल मरासिनीले बताए मेलामा हरेक दिन निःशुल्क दन्त शिविर र रक्तदान गर्ने व्यवस्था मिलाइएको महासचिव पदम जीसीले बताए ।
दुई वर्षसम्म मेला महोत्सव नहुँदा शिथिल बनेको अर्थतन्त्रलाई चलायमान बनाउन र नेपाली कला संस्कृति संरक्षण तथा पर्यटन पवर्द्धनमा व्यापार मेलाले टेवा पुर्याउने प्रचार प्रसार संयोजक जनेश पन्थीले बताए ।कोरोना महामारीका कारण दुई वर्षसम्म बुटवलमा मेला महोत्सवहरु हुन सकेका थिएनन् ।
