जनकपुरधाम, १८ कात्तिक ।
प्रदेश २ सरकारले कृषि तथा प्रविधि विश्वविद्यालय स्थापनाका लागि ल्याएका अध्यादेशलाई प्रदेश प्रमुख हरिशंकर मिश्रले प्रमाणीकरण गरेका छैनन् ।
प्रदेश प्रमुख मिश्रले अध्यादेश अध्ययन गर्न नपाएको र चाडबाडका बिदाका कारण कर्मचारीहरू नरहेकाले अध्यादेश प्रमाणीकरण गर्न नसकिएको बताए ।
प्रदेश सरकारले संसद् छल्दै गत भदौ २८ गते दुवै विश्वविद्यालय स्थापनाका लागि अध्यादेश प्रदेशप्रमुख समक्ष सिफारिस गरेको थियो । अध्यादेशअनुसार सप्तरीमा कृषि विश्वविद्यालय र पर्सामा प्रविधि विश्वविद्यालय स्थापना तथा सञ्चालन गर्ने उद्देश्य लिइएको छ । प्रदेश सरकारको यी योजनालाई अत्यन्त महत्वाकांक्षी तर महत्वपूर्ण मानिएको छ ।
मुख्यमन्त्री लालबाबु राउतले अध्यादेश प्रमाणीकरण गर्नेबारे प्रदेश प्रमुखसँग बुधबार कुरा भएको र एकाध दिनमा प्रमाणीकरण हुने जानकारी दिए । प्रदेश प्रमुख मिश्रले पनि अध्यादेश प्रमाणीकरण गर्ने बताए । उनले भने, ‘यो विधेयक होइन, अध्यादेश हो । प्रमाणीकरण गर्ने समयसीमा हुँदैन । तर सरकारले पठाएपछि प्रमाणीकरण गर्छु नै ।’
प्रदेश प्रमुख मिश्रले अध्यादेशसम्बन्धी पत्र प्रदेश मन्त्रिपरिषबाट अझै नआएको बताए ।
संवैधानिक प्रावधानअनुसार प्रदेश प्रमुखले अध्यादेश प्रमाणीकरण गर्नुपर्ने बाध्यता छैन ।
अध्यादेशलाई लिएर सत्ता गठबन्धनभित्रमै विवाद छ । सत्तारुढ दलहरूले संसद्मा दुईतिहाइ भएको सरकारले ओलीशैलीमा अध्यादेश ल्याउन नहुने बताउँदै आएका छन् ।
