डा.सुनिता राय
हामीले सोचेका थियौं कि उहाँले आफ्नो भविष्यको रूपरेखा चिकित्सक, इन्जिनियरलगायत कुनै व्यावसायिक शिक्षा, सीप र इलमका साथ सुरु गर्नुहुन्छ । सामान्यता हरेक घरपरिवारमा सन्तानले प्राविधिक शिक्षा हासिल गरेर ‘इज्जतिलो र सुरक्षित’ जीवन निर्वाह गरुन् भन्ने चाहना हुन्छ । हाम्रा अभिभवाकको आकांक्षा यसभन्दा फरक थिएन ।
सामाजिक, शैक्षिक र आर्थिक पृष्ठभूमिको दृष्टिले हाम्रो परिवार अब्बल नै थियो । गम्भीरतापूर्वक शिक्षार्जन गर्नुपर्ने विधि र संस्कारबाट हामी सधैँ अनुप्रेरित थियौं । करबल थिएन तर शिक्षाको महत्व बुझेका थियौं । त्यसैले हामी दाजुभाइ तथा दिदीबहिनीहरू इच्छा र परिस्थितिअनुरूप उच्चशिक्षा हासिल गर्यौं । मेरा पुस्ताका पारिवारिक सदस्य प्रायः कुनै न कुनै क्षेत्रमा विज्ञता हासिल गर्नुभएको छ । र, तिनै विज्ञताका भरमा आफ्नो पेसा र व्यवसाय अगाडि बढाइरहेका छन् ।
तर, दाइ सरोज रायको रुचि तथा रुझान केमा छ ? हामी आफैं प्रस्ट हुन सकिरहेका थिएनौं । यो आरम्भिक कुरा हो । सबैसँग सजिलै घुलमिल हुने र व्यवहार गर्ने बानीले गर्दा उहाँ मनोगत नभएर सामूहिक भावका साथ जिउन खोज्ने मानिस हुन् भने छनक दिइसकेको थियो । विकल्प थुप्रा थिए, जहाँ काम गरेर दामर प्रतिष्ठा दुवै आर्जन गर्न सकिन्थ्यो । हामीले पनि दाइको संलग्नता ती विकल्पमा केन्द्रित होस् भन्ने चाहेका थियौं ।
तर, अर्काको दुःख र पीडामा संवेदनशील हुने र तिनका समस्या सुल्झाउन अहोरात्र खट्ने उहाँको सानैदेखिको प्रवृत्ति नै पछिल्लो समय सामाजिक कार्यको आधार बन्यो । सामाजिक, धार्मिक तथा साँस्कृतिक कार्यमा अग्रणी भूमिका निर्वाह गर्ने सरोज दाइले थुप्रा काम गर्नुभयो । तर, राष्ट्रिय मञ्चमा अत्यधिक चर्चा पाएको काम भनेको साउदीमा मृत्युदण्ड पर्खिरहेका एक व्यक्तिलाई उद्धार गरेर नेपाल ल्याउने प्रकरण भयो । खाडी मुलुकमा हत्याजस्ता जघन्य आरोपमा दोषी ठहर भएकाहरूलाई अत्यन्त क्रुरतापूर्वक मृत्युदण्ड दिइन्छ । घरजहान पाल्न ऋण काढेर गएका नेपालीहरू त्यहाँका अदालतबाट दोषी ठहर भई सजाय पाउँदा उन्मुक्ति दिलाउने शक्ति र सामथ्र्य त्यहाँस्थित हाम्रो कुटनीतिक नियोगको पनि छैन । त्यहाँ काम गर्ने अन्य नेपालीहरूमा कारागारमा रहेका देशवासीप्रति सहानुभूति नहुने कुरा नै छैन । तर, आफू पनि बनिबुतो गर्न पुगेका उनीहरूका लागि तिनलाई रिहा गराई देश पठाउने काम पहिलो प्राथमिकतामा पर्ने कुरा नै भएन ।

दाइका लागि यो काम भने जीवन र मृत्युको सङ्घर्षजस्तै भयो । तपाईं कल्पना गर्नुस्, तपाईका परिवारका सदस्य वा कोही आफन्त विदेशका कुनै जेलमा मृत्युदण्डको पर्खाइमा छन् भने तपाईंको मनास्तिष्कमा कस्तो ज्वारभाटा उठ्दो हो । हो, यस्तोमा नबिराई मुटु बिझिरहने हो । साउदीमा रहेका ती नेपालीलाई सकुशल घर फर्काउन थुप्रा कानुनी जटिलता थिए । दाइले त्यसलाई मिहिन गरी बुझ्नुभयो । म त भन्छु, केही समयका लागि उहाँ ‘वकिल’ नै बन्नुभयो । उनलाई सजाय माफी गराउने खर्चिलो, झन्झटिलो र दिक्कलाग्दो यात्रालाई सहजतापूर्वक लिनुभयो । सबै ठाउँबाट दस्ताबेज संकलन गर्ने, अध्ययन र विश्लेषण गर्ने, राष्ट्रिय र अन्तर्राष्ट्रिय तहमा वकालत गर्ने, सम्पर्क विस्तार गरी भनसुन गराउने आदि कार्य एकजना मात्रका लागि कति दुष्कर हुन्छ ? तर, उहाँले निरन्तर त्यस कार्यमा लागिरहनुभयो । प्रतिफल ती व्यक्तिको सजाय माफी भयो र उनी प्राणवायुका साथ नेपाल फर्के । त्यस दिन सिंगो देशसँगै हामीलाई दाइको प्रतिबद्धता र समर्पणप्रति औधी गौरवबोध भएको थियो ।
मानव तस्करी नेपालको प्रमुख समस्या रहँदै आएको छ । विपन्न र पिछडिएका क्षेत्रका बालबालिका, महिला तथा पुरुषसमेतलाई विभिन्न प्रयोजनले भारत लैजाने र उनीहरूको श्रम तथा यौनजन्य शोषण हुने कहालीलाग्दा कथाहरू हामीले सदैव पढिरहेका हुन्छौं । पीडितहरूको आर्तनादले आङ् सिरिङ पार्छ । पहिला यस्ता समस्या पहाडमा थिए भन्ने सुन्थ्यो । मधेसबाट भारत जानेहरू दिल्ली र पञ्जाब कमाउन गए भनेर हामीले आँखा चिम्लन्थ्यो । तर, दाइले लेखपढ गर्ने उमेरका व्यक्तिदेखि लिएर ऋणको बोझ उचाल्न नसकेर भारत पुर्याइएकाहरूले पाउने शारीरिक तथा मानसिक यातना, शोषण र जोखिमका काला अध्यायलाई खोतल्नुभयो । यसरी जनशक्ति भारतमा पठाएर मजाठाटले नेपालमा बसिरहेका कमिसनखोरहरूको कुन्डलीको खोजीनीति गर्नुभयो । विभिन्न कारणबाट भारतमा अलपत्र परेका बालबालिकाहरू पनि छन् । जसलाई नेपाल ल्याउन कानुनी समस्यामात्र होइन, जोखिम पनि हुन्छ । तर, दाइले भारतका सरकारी तथा गैरसरकारी संयन्त्रहरूसँग समन्वय गरेर सयभन्दा बढी बालबालिकाहरूको उद्धार गर्नुभएको छ ।
उखरमाउलो गर्मी होस् कि कुहिरा लागेका रात । उहाँ टन्टलापुर घाम र चिसो सिरेटोका बीच पनि आफ्नो यात्रा रोक्नुभएन । भारतका विभिन्न सहर पुगेर मानव उद्धार कार्य जारी नै राख्नुभयो ।
म सामाजिक सञ्जालमा उखु किसान किसानको गहभरि आँसु भएको एउटा मार्मिक तस्बिर हेरेँ । द्रवित भएँ । अनि मलाई लाग्यो यतिविघ्न दुःख पाइरहेका किसानका गुहार यो राज्यले किन सुन्दैन ? सायत् दाइ र मेरो बुझाइ एउटै हुनुपर्छ । उहाँ उखु किसानको आन्दोलनमा होमिनुभयो । उखु मिल सञ्चालकले वर्षौंसम्म उखुको भुक्तानी नदिने र दिए पनि किस्ताकिस्तामा दिने काम गरिरहेकाले किसान मर्कामा पर्ने गर्छन् । बालबच्चाको शिक्षादीक्षा, बिहावारीलगायत गर्नका लागि पनि उखु उत्पादकलाई हम्मे परिरहेको हुन्छ । घरव्यवहार चलाउन ऋणमाथि ऋण थप्रँदै जान्छ । यस्तोमा दाइको अगुवाइमा सञ्चालन भएको आन्दोलनबाट सरकार र उखु सञ्चालकमाथि थोरै भए पनि दबाब परेको छ । किसानका समस्या पूर्णतः नसुल्झिए पनि समाधान हुने बाटो खुलेको छ । कम्तीमा उत्पादक किसानलाई दच्काउनबाट बिचौलियाहरू सतर्क भएका छन् । दाइको सामाजिक आन्दोलनमा यो एउटा ठूलो योगदान हो जस्तो लाग्छ ।
आफ्नै पेसागत कामले गर्दा दाइसँग हाम्रो भेट पातलो हुन्छ । तर, सामाजिक सञ्जालमा भए पनि दाइले गर्ने कामका फेहरिस्त हामीले थाहा पाइरहेका हुन्छौं । म दाइलाई कुनै गाउँ वा टोलबस्तीमा पुगेको हेर्छु अनि मलाई लाग्छ पक्कै पनि आज त्यहाँका कुनै दीनदुःखीको मनमा मलम लागेको होला । अर्थाभावमा जिन्दगी नै पहाड लाग्नेहरूका लागि सानातिना सहयोग पनि महत्वपूर्ण हुन्छ । थोरबहुत ऋणले बन्धक बनेकाहरू उऋण भएको सम्झँदा तपाईंलाई पनि खुसी लाग्छ होला । दाइलाई छोरीचेलीको बिहाबारी, बालबच्चाको पढाइ र स्वरोजगारका लागि गाउँका मानिसलाई सहयोग गरिरहेको देख्दा म हर्षविभोर हुन्छु ।
दाइको समाजसेवा गर्ने दायरा निकै फराकिलो छ । सबै काम सुनाउन घन्टौं लाग्छ । तर, एउटा कुरा चाहिँ भन्नैपर्छ । चुरे संरक्षणका पक्षमा उहाँको पछिल्लो अभियान । चुरे विनासको कहरबारे हामीले बुझेका छौं । आज मधेसको धेरैजसो भूभाग मरुभूमिमा परिणत भएको छ र खेतीयोग्य जमिन बलौटै हुने क्रम जारी छ । यस्तो नै रहने हो भने हाम्रो जीवन अस्तित्व नै संकटमा पर्छ । त्यसेले वनजंगल जोगाउनुपर्छ । नदी प्रणालीलाई व्यवस्थित गर्नुपर्छ । यो चेतनाबोध जनतामा ल्याउनु र यसका लागि सरकारलाई सक्रिय बनाउन लगाउनु आफैंमा कठिन काम हो । तर, दाइले यस कार्यलाई अघि बढाइरहनुभएको छ ।
सुकुमवासीका नि धेरै समस्या छन् । खासगरी समाजका पिछडिएकाहरू नै सुकुमवासी छन् । उनीहरूका लागि गास, बास र कपासको जोहो गर्ने काम सरकारको हो । तर, सरकार यो समस्याप्रति संवेदनशील देखिँदैन । सुकुमवासीसँग दाइ अग्रमोर्चामा रहेर आन्दोलन गनुृभएको छ । अझ सरकारलाई घुँडा टेकाउनुभएको छ ।
दाइ, अहिले सर्लाहीको क्षेत्र नम्बर ३ ख बाट प्रदेशसभा सदस्य पदका लागि स्वतन्त्र उम्मेदवार बन्नुभएको छ । सामाजिक कार्यको धरातलबाट उहाँ सक्रिय राजनीतिमा आउनुभएको छ । त्यसैले उहाँका लागि आफ्नो कर्तव्य र निष्ठा भनेकै जनताको हितपोषण हो । म विश्वास गर्छु क्षेत्रका जनताले उहाँलाई आफ्ना प्रतिनिधि छान्नेछन् । र, मंसिर ४ पछि उहाँलाई हामीले जनताका हितमा कानुन बनाउँदै गरेको र सरकारलाई जनताका आवाज सुनाउँदै गरेको हेर्न पाउनेछौं ।
