अहिलेका


बोक्सीको आरोपमा भाउजुको हत्या गर्ने देवर हिरासतमा

जलेश्वर, ३१ असोज ।

महोत्तरीमा एक महिलालाई बोक्सीको आरोपमा हत्या गरेको भन्दै प्रहरीले आरोपितलाई सार्वजनिक गरेका छन् ।

महोत्तरीको महोत्तरी गाउँपालिका वडा नम्बर ३ स्थित मडै बस्ने ४२ वर्षीया शिलादेवी झालाई बोक्सीको आरोप लगाउँदै उनका देवरले हत्या गरेको महोत्तरी प्रहरीले आइतबार पत्रकार सम्मेलन गरी जनाएका हुन् ।

शिलादेवी घरमा सुतिरहेकै अवस्थामा बिहीबार टाउकोमा हथौडा प्रहार गरी उनका देवर संजय झाले हत्या गरेको महोत्तरीका प्रहरी उपरीक्षक दिनेश आचार्यले जनाए ।

आरोपित संजय जनकपुरधाम उपमहानगरपालिका २४ स्थित सोनापाडामा ज्यालादारीको काम गर्दै आएका छन् ।

संजय हत्या गर्नुपूर्व बुधबार राति नै जनकपुरबाट साइकलबाट घर पुगेका थिए । बिहीबार बिहान ३ बजेको समयमा शिलादेवी सुतिरहेक अवस्थामा हथौडाले टाउकोमा प्रहार गरि हत्या गरेर पुनः जनकपुर फर्किएको अनुसन्धानबाट खुलासा भएको महोत्तरीका प्रहरी उपरीक्षक आचार्यले बताए ।

शिलादेवीको हत्या नगर्दा परिवार सुखसँग बस्न नसक्ने अन्धविश्वासका कारण देवर संजयले भाउजूको हत्या गरेको उनले बताए ।

शिलादेवीलाई संजयले दिएको १२ लाख ३९ हजार सापटी समेत नदिएको हुनाले पनि हत्या उनले गरेको हुनुपर्ने महोत्तरी प्रहरीको भनाइ छ ।


Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!