जनकपुरधाम, १४ कात्तिक ।
भारतको उत्तरप्रदेशस्थित अयोध्यामा जानकीलीला प्रदर्शन गर्न गइरहेको मिथिला नाट्यकला परिषद्(मिनाप) का कलाकारहरूलाई हँसपुरका मेयर रामज्ञान मण्डलले साइपाटा(भार) दिएर विदाइ गरेका छन् ।

मेयर मण्डलले जनकपुरधामस्थित मिनापको नाट्यशालामा मिठाइ र फलफुलको भार दिएर कलाकर्मीहरूलाई आइतबार अयोध्यातर्फ प्रस्थान गराएका हुन् ।
कार्यक्रम लोकतान्त्रिक समाजवादी पार्टी नेपालका वरिष्ठ नेता राजेन्द्र महतो, प्रदेशसभा सदस्य परमेश्वर साहलगायतको अनुप्रेरणाले आयोजन गरिएको हो ।
कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाकी उपप्रमुख रीता झा, लोसपाका स्थानीय नेता मनोज चौधरी, लालबाबु यादव, अरुण कापर,अमिर खानलगायतको उपस्थिति थियो ।
दीपोत्सवको अवसर पारेर अयोध्यामा आयोजित धार्मिक कार्यक्रममा नेपालबाट मिनापले जानकीलीला प्रदर्शन गर्न लागेको हो । अन्य चार देशका टोलीहरूले भने सोही कार्यक्रममा रामलीला प्रदर्शन गर्नेछन् ।
