काठमाडौं, मंसिर १३ ।
नेकपा एमालेका अध्यक्षका लागि केपी शर्मा ओलीले उम्मेदवारी दर्ता गराएका छन् । पार्टीको दसौं महाधिवेशन बन्दसत्र स्थलस्थित केन्द्रीय निर्वाचन कार्यालयमा सोमबार बिहान उनले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका हुन् । ओलीको प्रस्तावकमा विष्णु पौडेल र समर्थकमा शंकर पोखरेल छन् ।
ओलीले आइतबार राति बन्दसत्रमा ३०१ जना केन्द्रीय सदस्य र पदाधिकारीको सूची पेस गरेका थिए । जसमा विष्णु पौडेललाई उपाध्यक्ष र शंकर पोखरेललाई महासचिवमा प्रस्ताव गरेका छन् ।
लोकतान्त्रिक प्रक्रियाभन्दा बाहिर गएर भएको निर्णयमा आफ्नो असहमति रहने भन्दै भीम रावलले विधि र प्रक्रियाको कुरा उठाएपछि ओलीको सहमतिको कोसिस आइतबार मध्यराति तुहिएको थियो ।
एमालेको १० औं महाधिवेशनको बन्दसत्रमा सर्वसम्मतिका लागि भन्दै वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल र महासचिवमा शंकर पोखरेललाई प्रस्ताव गरिएको छ । पार्टीभित्र भीम रावल, घनश्याम भुसाल लगायतका नेताहरूका विरोधका बीच अध्यक्ष ओलीले दिनभरको गृहकार्यपछि प्रस्ताव ल्याएका हुन् । ईश्वर पोखरेल एमालेको दुई कार्यकाल महासचिव भएका थिए । शंकर पोखरेल यसअघिको महाधिवेशनमा उपमहासचिवमा हारेका थिए । उनी लुम्बनी प्रदेशका पूर्वमुख्यमन्त्री शंकर एमाले सचिव भइसकेका छन् ।
प्रस्तावअनुसार ६ जना उपाध्यक्षमा युवराज ज्ञवाली अष्टलक्ष्मी शाक्य सुरेन्द्र पाण्डे रामबहादुर थापा विष्णु पौडेल र सुवास नेम्वाङ छन् । त्यस्तै ३ जना उपमहासचिवमा प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ र विष्णु रिमाललाई प्रस्ताव गरिएको छ । सातजना सचिवमा टोपबहादुर रायमाझी, छविलाल विश्वकर्मा, लेखराज भट्ट, रघुवीर महासेठ, योगेश भट्टराई, गोकर्ण विष्ट र पद्मा अर्याल छन् ।
सहमतिका लागि ल्याएको प्रस्तावमा पूर्वमाओवादी पक्षका रामबाहादुर थापा उपाध्यक्षसहित टोपबहादुर र लेखराज गरी ३ जना परेका छन् । वरिष्ठ उपाध्यक्षमा सुवासचन्द्र नेम्बाङ र ईश्वर पोखरेल र महासचिवमा विष्णु पौडेल र शंकर पोखरेलमध्ये कसलाई बनाउने भन्नेबारे समस्या परे पनि उनीहरूमध्ये पौडेल उपाध्यक्षमा र पोखरेल महासचिवमा बस्न तयार भएका हुन् ।
