अहिलेका


भुक्तानी नपाउँदा सर्लाहीका उखु किसान पिरलोमा

सर्लाही, ८ असोज ।

सर्लाहीका उखु किसानले अझै पनि उखुमा पाउने पर्ने अनुदान रकम पाएका छैनन् ।

नेपाल सरकारले गत वर्ष उखुको मूल्यनिर्धारण गर्दा किसानलाई प्रतिक्विन्टल ६५ रुपैयाँ २८ पैसा अनुदान दिने घोषणा गरेको थियो ।

नेपाल उखु उत्पादक महासंघका अध्यक्ष कपिलमुनि मैनालीका अनुसार उद्योगीबाट बेलैमा भुक्तानी नपाएर हैरान भएका उखु किसानलाई सरकारले समेत अनुदान रकम भुक्तानीमा आलटाल गरिरहेको गुनासो गरेका छन् ।

भुक्तानीको झन्झटले किसान उखु खेतीबाट निरुत्साहित हुँदै गएका मैनालीले बताए । दसैँतिहारका बेला अनुदान रकम उपलब्ध गराइदिन उखु किसानले सरकारसँग माग गरेका छन् ।

यता कोष तथा लेखा नियन्त्रण कार्यालय सर्लाहीका निमित्त प्रमुख दामोदर पौडेलले अनुदान रकम वितरणका लागि दुई सातापूर्व कार्यालयलाई २० करोड सात लाख रुपैयाँ बजेट प्राप्त भइसकेको जानकारी दिए ।

रोक्का भएको बजेट खुल्नेबित्तिकै दसैंअघि नै किसानलाई अनुदान वितरण गरिसक्ने उनले जानकारी दिए । अनुदान वितरणका लागि इन्दुशंकर चिनी उद्योग हरिवनबाट किसानको विवरण लिइसकेको र महालक्ष्मी चिनी उद्योग बगदहले एक्दुई दिनमै विवरण उपलब्ध गराउने जनाइएको छ ।

उखुको भुक्तानीका लागि किसानले बर्सेनि आन्दोलन गर्दै आइरहेका छन् । तीनवटा चिनी मिल रहेका सर्लाहीमा इन्दुशंकर चिनी उद्योग हरिवनले समयमा भुक्तनी दिए पनि महालक्ष्मी चिनी उद्योग बगदहले भने भुक्तानीमा ढिलाइ गरिरहेको उखु किसानको भनाइ छ ।

यता धनकौल गाउँपालिकामा रहेको अन्नपूर्ण चिनी उद्योग उखु किसानको पुरानो भुक्तानी दिन नसकेर गत वर्षदेखि बन्द छ ।


Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!