अहिलेका


भोट माग्न होइन, नदिन पर्चा बाँडिए, रावलद्वारा निन्दा

काठमाडौं, १३ मंसिर ।
नेकपा एमालेको दसौं महाधिवेशनमा पदाधिकारी र केन्द्रीय सदस्य छनोटका लागि मतदान चलिरहेका बेला भीम रावलसहितका उम्मेदवारलाई मत नदिन भन्दै पर्चा बाँडिएको छ । एमाले विधानअनुसार प्यानल बनाएर लड्न नपाइने भनिए पनि संस्थापन पक्षले यसअघि प्यानलसहितको सूची मतदातालाई बाँडेको छ ।

कसलाई भोट हाल्ने वा नहाल्ने संकेतसहितका पर्चा पार्टी संस्थापन पक्षले बाँडेपछि नेता रावलले ट्विट गर्दै निर्वाचन आयोगको आचारसंहिताविपरीतको कार्य निन्दनीय भएको बताएका छन् ।

ट्वीट् गर्दै उनले लेखेका छन्– ’चितवनमा एमालेको मतदान सुरू भएपछि मतदान इलाकामा पार्टी निर्वाचन आयोगको आचार संहिताविपरीत समूह सूची बाँड्ने र त्यसको विरोध गर्नेमाथि जाइलाग्ने कार्यको निन्दा गर्दछु ।उक्त कामले पार्टीमा धब्बा लाग्छ र लोकतन्त्रलाई कमजोर बनाउछ । यो रोक्न निर्वाचन आयोग र सुरक्षाकर्मीलाई आग्रह गरेको छु ।’

नेकपा (एमाले)को दसौं महाधिवेशनअन्तर्गत पदाधिकारी र केन्द्रीय सदस्यका लागि उम्मेदवार चयनका लागि मतदान जारी छ । मंगलबार बिहान ४ बजे केपी शर्मा ओलीले विद्युतीय मतदान गरेपछि निर्वाचन सुरु भएको थियो ।

पदाधिकारीको अध्यक्ष, उपाध्यक्ष र सचिवमा मतदान भइरहेको छ । त्यस्तै, विभिन्न क्लस्टरका केन्द्रीय सदस्यमा पनि मतदान भइरहेको छ । अध्यक्षमा केपी शर्मा ओली र भीम रावलले उम्मेदवारी दर्ता गराएका छन् ।

 


Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!