अहिलेका


मजदुरका सशक्त नेता राजदेव मिश्रको निधन


जनकपुरधाम, १५ कार्तिक ।
राजदेव मिश्र भन्ने वित्तिकै जनकपुरधाममा ईमान्दार छविको व्यक्तित्वको रुपमा चिनिन्छ ।

दलिय राजनीतिभन्दा माथी उठेर राजनीति गर्ने राजदेव मिश्र उमेरको उतराद्र्धमा आएपनि जनकपुरधामको भविश्यप्रति चिन्तित हुन्थे ।

नगरभित्र पैदल घुम्ने, चोक चोकमा बसेर जनकपुरधामको भविश्य र भावी दिशाको विषयमा चर्चा परिचर्चा गर्ने र पुरोहिती कर्म गर्ने उनको दैनिकी थियो । जो कोही उनलाई भेटे बाबा प्रणाम भनी सम्बोधन गर्थे । मिश्रलाई नामले नचिन्नेहरु समेत इमान्दार छविको नेता भन्ने वित्तिकै चिनि हाल्थे ।
तर सोमबार एका बिहानै जनकपुरधामको पूर्व मेयर एवं इमान्दार छवि बनाएका राजदेव मिश्रको निधनसंगै जनकपुरधाम स्तबध छ । पंचायती व्यवस्थामा तत्कालिन जनकपुर नगर पंचायत वडा नम्बर ३को अध्यक्ष हुँदै तत्कालिन जनकपुरधाम नगरपालिकाको मेयरसम्मको बाटो तय गरे । यद्यपि उनी सदैव स्वतन्त्र रुपमै रहेर चुनाव लडेर ती पदहरुमा पुगे । कट्टर राजावदीको रुपमा चिनिएपनि राजसंस्थालाई समर्थन गर्ने दलहरुमा समेत उनले आफ्नो संलग्नता देखाएनन् ।

शुरुमा मजदुरहरुको हक अधिकारका लागि आवाज उठाउँदै मिश्रले वि.सं. २०३४ सालमा नगर पंचालयको चुनावमा वडा नम्बर ३बाट वडा अध्यक्षका लागि चुनाव लडेका थिए । जसमा उनले जीत पनि हाशिल गरेका थिए । त्यसपछि जनकपुरधामको उपप्रधान पञ्चमा समेत विजयी भएका थिए ।

उपप्रधान पञ्चमा चुनाव लड्दा उनले एक भोट एक नोटको नारा दिएर अत्याधिक मत ल्याएर विजयी भएका थिए । त्यस लगत्तै देशमा पंचायत बिरुद्धको आन्दोलन तीव्र हुँदै गयो र मिश्रको राजनीतिक यात्रा पनि शिथिल हुँदै गयो ।

तर नेपालका तत्कालिन राजा ज्ञानेन्द्र शाहले कु गर्दा जनकपुरधाम नगरपालिकाको मेयर बने । मेयर बने लगत्तै मिश्रले जनकपुरधामका सडकहरुको विस्तारको अभियान चलाएर क्रान्ति ल्याए । त्यो समयमा उनी बिरुद्ध कति व्यक्ति खनिए तर आफ्नो अभियानमा अडिग रहे । तर उनको अभियान सम्पन्न हुन नपाउँदै देशमा राजतन्त्र समाप्त भयो । राजतन्त्र समाप्त भए लगत्तै ४ महिनाको मेयर पदमा रहेर काम गर्ने अवधि पनि समाप्त भयो । मेयर पदबाट हटे लगत्तै उनी आफ्नो पुरोहिती पेशालाई निरन्तरता दिई रहे ।

यो त थियो उनको राजनीतिक यात्रा । तर उनको व्यक्तित्व र स्वभावको सबैभन्दा बढी बेलाबखतमा हुने गर्छ । उनलाई नजिकबाट चिन्नेहरु मध्ये पर्छन् प्रदेश २ निति तथा योजना आयोगका उपाध्यक्ष डा. भोगेन्द्र झा । झा उनलाई राजनीतिज्ञ भन्दा पनि मजदुरहरुको सशक्त नेताको रुपमा मान्छन् । मिश्र मजदुरहरुका लागि मसिहा मात्र नभई सामाजिक समरसताका पक्षधर, समाजवादीको प्रतिकको रुपमा रहेको झाको भनाई छ ।
झा भन्छन् ‘नेपालमा कम्युनिष्टहरु समाजवादको नारा त दिन्छन् तर व्यवहारमा भने केही देखिदैन ।, अगाडी भने ‘मिश्र आचरणबाट समाजवादी थिए ।’ मिश्रको निधनले उनको परिवारलाई क्षति त भएको छ नै त्यसमाथी मजदुरहरुले एक सशक्त नेता पनि गुमाएका छन् ।

४ महिनाका लागि मेयर जनकपुरधाम नगरपालिकाका मेयर बनेका मिश्र आफ्नो व्यक्तिगत लाभभन्दा पनि समाजको हितका लागि काम गरेको झाले बताए । उनीमाथी कट्टर राजावादी भएपनि मजदुरहरुको हकहित तथा अधिकारका लागि निरन्तर लडि रहे ।

उनी मेयर छँदा समेत आय आर्जनको माध्यम भने पुरोहिती पेशा नै हुन्थ्यो । संचारकर्मी समेत रहेका उनको छोरा घनश्याम मिश्र ‘बुवा एकदमै ईमान्दार हुनु हुन्थ्यो त्यो सबलाई थाहा छ तर यति पनि ईमान्दार अहिलेको समयमा हुनु हुँदैन ।’ बुवा मेयर भएकै बेला दाई विनोद मिश्रले जनकपुर चुरोट कारखानामा जागिर पाएका थिए । तर बुवाको आलोचना हुन थालेपछि उनले दाईलाई जागिर बाट हटाउन लगाएको कुरो अझै स्मरण रहेको घनश्यामले सुनाए ।

मिश्रको सोमबार बिहान साढे ३ बजे ८५ वर्षको उमेरमा आफ्नै निवास जनकपुरधाम उपमहानगरपालिका ४ आनन्दनगरमा भएको पत्रकार समेत रहेका उनका छोरा घनश्याम मिश्रले जानकारी दिए ।

तीन महिना अघि उनलाई हृदयघात भएको थियो । उनको पार्थिव शरीरलाई आजै जनकपुरधाम स्थित श्मसानघाटमा अन्येष्टि गरिएको छ । मिश्रका ४ छोरा र तीन छोरी छन् ।


Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!