प्रशोधक समाचारदाता/महोत्तरी, १३ चैत ।
महोत्तरीको सीमान्त क्षेत्र मटिहानीको धार्मिक वैभव र सामाजिक अतीत सिद्ध सन्त तसमैया बाबा र सुफीसन्त पिरबाबासँग जोडिएको छ । पाँच सय वर्षअघि सनातन र इस्लाम सँस्कृतिलाई प्रवद्र्धन गर्ने यी दुई महात्माका कारण मटिहानी आबाद भएको र यहाँ दुई फरक धर्मावलम्बीबीच सहिष्णुता कायम रहँदै आएको विश्वास गरिन्छ ।

तसमैया बाबाले खन्ती र चिम्टा गाडेको लक्ष्मीनारायण मठनजिकै पिरबाबाको मजार छ । जहाँ इस्लामिक परम्पराका उत्सव र विशिष्ठ दिनहरूमा हजारौंको सँख्यामा नेपाल र भारतका श्रद्धालुहरू आउँछन् ।
मटिहानी नगरपालिकाले पिरबाबाको मजार सौन्दर्यीकरण एवम् अन्य निर्माणत्मक कार्य गरेको छ । सम्पन्न गरिएका ती कामको उद्घाटन मटिहानीका नगरप्रमुख हरिप्रसाद मण्डलले आइतबार गरे ।

उनले पौराणिक तथा ऐतिहासिक पिरबाबाको मजारलाई दर्शनीय बनाउन मटिहानी नगरपालिका कटिबद्ध रहेको बताए ।
नगरपालिकाले करिब १५ लाखको लागतमा मजारको सौन्दर्यीकरण गरेको इन्जिनियर विमलेश साहले बताए ।
मटिहानी नगरपालिका वड़ा नम्बर ७ का अध्यक्ष जितनारायण माझीको सभापतित्वमा सम्पन्न कार्यक्रममा मटिहानी नगरपालिका. वड़ा नं. ६ र ८ का अध्यक्षहरू क्रमशः रामबाबु नायक र गणेशप्रसाद साहलगायतका व्यक्तिले पिरबाबाको महिमाबारे धारणा व्यक्त गरेका थिए ।
