जनकपुरधाम, १० असोज ।
नवगठित लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले मधेसका समस्या थाँती रहुञ्जेल देशमा अस्थिरता कायम नै रहने बताएका छन् ।
आइतबार जनकपुरधाममा लोसपा महिला परिवारले जितिया पर्वको पूर्वसँध्यामा आयोजना गरेको कार्यक्रममा अध्यक्ष ठाकुरले मुलुकमा राजनीतिक अस्थितरता कायम रहे पनि सरकारले मधेस समस्या समाधानका लागि गम्भीरता नखेखाएको आरोप लगाए ।
उनले मधेश समस्या समाधान गर्नका अहिलेसम्म भएका प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराइसकेको बताए । देशमा संघीय गणतन्त्र स्थापनापछि भएका सबै प्रधानमन्त्रीलाई मधेशको मुद्दाको सवालमा जानकारी गराएको उनले स्पस्ट पारे । वर्तमान त्रुटिपूर्ण संविधानकै कारण देशमा राजनीतिक अस्थिरता उत्पन्न भएको अध्यक्ष ठाकुरको भनाइ छ ।
अध्यक्ष ठाकुरले भने ‘संविधानको धारा ७६ मा स्पष्ट व्याख्या भएको भए अहिलेको जे अवस्था छ, त्यो सिर्जना हुने थिएन ।’
अन्तरिम संविधानमा रहेका अधिकारहरू समेत वर्तमान संविधानले कटौती गरेको चर्चा गर्दै अध्यक्ष ठाकुरले संविधान संशोधनका सबालमा लोसपा आफ्नो अडानमा अडिग रहेको उल्लेख गरे । उनले मधेशका एजेन्डा सुरुदेखि आफूहरूले नै उठाएकोे र अहिले पनि त्यसमा कायम नै रहेको बताए ।
उनले भने ‘संविधान संशोधन, मधेस आन्दोलनकारीमाथि लगाइएका झुटा मुद्दा फिर्ता, नागरिकता समस्या समाधान, समावेशितालगायतका मुद्दा हामीले निरन्तर उठाइरहेका छौँ ।’
