अहिलेका


मधेसवादी दलका अभिष्ट सत्ता र भत्ता : मन्त्री यादव

जनकपुरधाम, १० कात्तिक ।
प्रदेश २ सरकारका भौतिक पूर्वाधार विकास मन्त्री एवम् नेपाली काँग्रेसका नेता रामसरोज यादवले मधेसवादी दल वर्णशंकर रहेको आरोप लगाएका छन् ।

बुधबार सर्लाहीको बरहथवामा आयोजित दिपावली, नेपाल संवत, ल्होछार, माघीलगायत राष्ट्रिय पर्वका शुभकामना आदानप्रदान कार्यक्रममा प्रदेश २ सभामा पार्टी संसदीय दलका नेतासमेत रहेका यादवले मधेसवादी दलमाथि सो आरोप लगाएका हुन् ।

मन्त्री यादवले एक मधेस, स्वायत्त प्रदेशको नारा दिने मधेसवादी दलहरूले सयौंको सहादतपछि २२ जिल्लाबाट आठ जिल्लामा मात्र मधेस हेर्ने गरेको भन्दै सत्ता र भत्ताका लागि संविधान मान्ने काम गरिरहेको दाबी गरे ।

उनले भने, ‘संविधान जलाउने, संविधानको विरोध गर्न ब्ल्याक आउट गर्ने र त्यही संविधानअन्तर्गत मुख्यमन्त्री र मन्त्री बन्ने मधेसवादी दलहरू वर्णशंकर नै हुन् ।’

वर्णशंकरलाई स्थानीय बुझाइमा दुईजीब्रे भनिन्छ ।

साढे तीन वर्षभन्दा बढी समय प्रदेश सरकारमा सहभागी भएका मधेसवादी दलहरूले प्रदेशस्तरका ठूला योजना ल्याउन नसकेको भन्दै आफूहरू आर्थिक वर्षको अन्त्यतिर २६ गते प्रदेश सरकारमा सहभागी भएको र असार ३० मा जिम्मेवारी पाएको उल्लेख गर्दै दुई दिनको छोटो अवधिमा आफूहरूले सन्तोषजनक बजेट ल्याउन नसकेको स्वीकार गरे ।

उनले छोटो समयमै भए पनि प्रत्येक क्षेत्रमा पाँच किलोमिटर सडक, महेन्द्रनारायण निधि आवास योजना, विपन्न आवास योजना, पुललगायतका ठूला योजना ल्याउन भने सफल भएको जिकिर गरे ।

मन्त्री यादवले भने, ‘प्रदेश सरकारमा सहभागी काँग्रेसले बजेटलाई नछरी विनियोजन गरेको छ । यो नै हाम्रो सफलता हो ।’

उनले प्रजातान्त्रिक पार्टीमा विचारको मतभिन्नता हुने र गुटउपगुट बन्ने कुरा स्वाभाविक भए पनि पार्टीविरुद्ध जाने प्रवृत्तिमा अंकुश लाग्नुपर्ने बताए ।

मन्त्री यादवले भने, ‘कम्युनिस्टमा मतभिन्नता प्रकट गर्न पाइँदैन । काँग्रेसजस्तो प्रजातान्त्रिक दलमा यो अवस्था रहन्छ । तर, यसको आडमा अनुशासनहीनता सह्य हुँदैन ।’
उनले विगतमा अनुशासनहीन काम गर्ने नेताकार्यकर्तालाई कारबाही गरिएको भए पार्टीविरुद्ध जाने अवस्थाको अन्त्य भइसकेको हुने बताए ।

राष्ट्रिय राजनीतिमा संकट र विचलन आउँदा काँग्रेसले सरकारको नेतृत्व लिनुपर्ने अवस्था आउने गरेको स्मरण गर्दै नेता यादवले अनिच्छाका बाबजुद पनि शेरबहादुर देउवालाई पाँच दलीय गठबन्धन सरकारको नेतृत्व गर्नुपरिरहेको र प्रदेशमा समेत आफूहरूलाई सरकारमा सहभागी हुनुपरेको प्रस्ट्याए ।

 


Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!