अहिलेका


मधेस भवनमै भेटेर रामसरोजलाई फकाउँदै निधि

अब निधिजीसँग अंश माग्छु : रामसरोज यादव

जनकपुरधाम, ३ मंसिर ।
नेपाली काँग्रेसका उपसभापति एवं पार्टीको आसन्न महाधिवेशनमा सभापति पदका अवश्यम्भावी प्रत्याशी विमलेन्द्र निधि आफ्नै समूहका असन्तुष्ट नेता रामसरोज यादवलाई फकाउन शुक्रबार जनकपुरधाम आउँदैछन् ।

प्रदेश २ सरकारका भौतिक पूर्वाधार विकास मन्त्रीसमेत रहेका यादवको असन्तुष्टि र क्षोभलाई साम्य पारी पूर्ववत् आफ्नै समूहमा सक्रियतापूर्वक काम गर्न परामर्शका लागि जनकपुरधाम आउने निधिले मन्त्री यादवलाई मधेस भवनस्थित उनको सरकारी आवासमा भेट गर्नेछन् ।

‘अबको केही बेरमा दुवै नेताबीच भेट हुनेछ । भेटघाटमा निधि र यादवका अतिरिक्त कोही रहँदैनन्,’ मन्त्री यादवका सल्लाहकार जीवनाथ चौधरीले भने ।

धनुषाको मुखियापट्टी मुसहरनियाँ गाउँपालिका वडा न. ५ र ६ मा पार्टीको वडाधिवेशनक्रममा आफूविरुद्ध निधि पक्षधर भनिएकाहरूले चर्का नाराबाजी गरेको भन्दै नेता यादव असन्तुष्ट रहँदै आएका छन् । त्यसअघिदेखि नै यादव अधिवेशनक्रममा विभिन्न वडामा आफ्नो प्यानलबाट छुट्टै उम्मेदवारी दिँदै आएकाले निधि र यादवबीचको अविश्वास गहिरिँदै गएको बताइन्छ ।

निधि र यादवलाई नजिकबाट चिन्नेहरूले दुई नेताका बीच सम्बन्धमा उतारचढाव आउने गरे भए पनि कसैले चलखेल गर्दैमा फाटो नआउने विश्वास व्यक्त गरे ।

सभापति पदका प्रत्याशी निधिलाई क्षति पुग्नेगरी यादवका निकटहरूले गुटबन्दी, निषेध र विपक्षीलाई फाइदा पुग्ने काम गर्न थालेपछि त्यसको प्रत्युत्तरमा मुखियापट्टी मुसहरनियाँमा नेता यादवविरुद्ध निधि पक्षधर भनिएकाहरूले रोष प्रकट गरेका हुन् । दुई दिनअघि अधिवेशन एकपक्षीय ढंगले गर्न थालेको भनी स्थानीय नेताकार्यकर्ताहरूको एक समूहले मन्त्रीसमेत रहेका यादवविरुद्ध नाराबाजी गरेका थिए ।

यादवको गृहगाउँसमेत रहेका मुखियापट्टी मुसहरनियाँ वडा नं ६ मा विपक्षीहरूले अधिवेशन बहिष्कार गरेपछि यादव पक्षकै नेताकार्यकर्ताहरू सम्मिलित वडा समिति गठन तथा क्षेत्रीय प्रतिनिधि छनोट भएका छन् ।

नेता निधिसँग आफ्नो ४७ वर्षदेखिको राजनीतिक साइनो रहेको भन्दै मन्त्री यादवले निधिसँग रहने रहरका कारण आफू पार्टी केन्द्रीय सदस्य र केन्द्रीय मन्त्री बन्ने दौडमा कहिल्यै नलागेको बताए ।

निधिसँगको सामीप्य वा निकटताका कारण अरूजस्तो अन्य नेताका पछाडि नलागेकाले आफूभन्दा धेरै कनिष्टहरू पार्टी केन्द्रीय सदस्य र मन्त्री बनेका गुनासो गर्दै नेता यादवले केही व्यक्तिका कारण निधिजीसँग आफ्नो सम्बन्ध प्रभावित भइरहेको जानकारी दिए ।

नेता यादवले आज हुने निधिसँगको भेटमा आफूले अंश माग्ने बताए । ‘‘अब सीधा कुरा गर्छु । आफ्नो अंश माग्छु,’ यादवले भने ।

निधि र यादवलाई नजिकबाट चिन्नेहरूले दुई नेताका बीच सम्बन्धमा उतारचढाव आउने गरे भए पनि कसैले चलखेल गर्दैमा फाटो नआउने विश्वास व्यक्त गरे ।


Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!