अहिलेका


मन्त्रिपरिषद्लाई आजै पूर्णता दिन गठबन्धन बैठक बस्ने

काठमाडौं, २१ असोज ।

मन्त्रालयको बाँडफाँड र अन्य केही विषयलाई टुंगो लगाउने गरी संघीय सत्ता गठबन्धनको बैठक बस्ने भएको छ ।

चारवटा मन्त्रालय पाउने भनिएको नेकपा एकीकृतले भागबन्डामा तीव्र असन्तुष्टि जनाएपछि त्यसलगायत अन्य विषयमा अन्तिम निचोडमा पुग्न सत्ता गठबन्धनको बैठक बस्ने भएको हो । सत्ता गठबन्धनमा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चा छन् ।

बिहीबार बेलुका मन्त्रिपरिषद्लाई पूर्णता दिने प्रधानमन्त्रीको कार्यतालिकालाई सघाउन गठबन्धन बैठक बस्ने वालुवाटार स्रोतले जनाएको छ ।

राष्ट्रिय जनमोर्चाले सरकार बाहिरै बसेर गठबन्धनलाई सघाउने बताइसकेको छ । ​

गठबन्धनमा रहेको माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठकपछि गठबन्धनको बैठक बस्ने तयारी भएको बालुवाटार स्रोतले जनाएको छ । स्रोतका अनुसार गठबन्धन बैठक बस्नेबारे छलफल भइरहेको भए पनि समय निश्चित भइसकेको छैन ।

गठबन्धन बैठकमा आफ्ना माग प्रस्तुत गर्नेबारे एकीकृत समाजवादीको बैठक अहिले जारी छ ।

मंगलबार बसेको सत्ता गठबन्धन बैठकमा काँग्रेसले ७, माओवादी केन्द्रले ६ र समाजवादी र जसपाले चारचार वटा मन्त्रालय पाउनेगरी प्रारम्भिक सहमति भएको थियो । त्यसलगत्तै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो भागमा थोरै मन्त्रालय परेको भन्दै असन्तुष्टि जनाएका थिए ।

 


Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!