विराटनगर, १६ कात्तिक ।
मेथिली भाषाभाषीको बाहुल्य रहेको प्रदेश २ मा कानुनी कारणले मैथिली भाषा तथा साहित्यका अभियानी मन्त्रीहरू समेतले नेपाली भाषामा पद तथा गोपनीयताको शपथग्रहण गर्नुपरेको स्थितिमा प्रदेश १ का नवनियुक्त सामाजिक विकास मन्त्री जयराम यादवले मैथिली भाषामा पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् ।
मंगलबार दिउँसो मुख्यमन्त्री राजेन्द्र राईले सामाजिक विकास मन्त्रीमा नियुक्त गरेका यादवले प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ समक्ष मैथिली भाषामा पद तथा गोपनीयताको शपथग्रहण गरेका हुन् ।
मन्त्री यादवको मातृभाषा मैथिली हो ।
मुख्यमन्त्री तथा मन्त्रीहरूको शपथग्रहणसम्बन्धी पत्र नेपाली भाषामै ल्याइए पनि मन्त्री यादवले प्रदेश प्रमुख ‘प्यासी’ समक्ष आफूले मातृभाषामै शपथ ग्रहण गर्ने बताएका थिए । त्यसपछि शपथपत्रलाई भाषा रुपान्तरण गरी मन्त्री यादवले मैथिलीमा शपथग्रहण गरेको उनका स्वकीय सचिव राकेशरोशन यादवले जानकारी बताए ।
कानुनी जटिलताका कारण भन्दै मैथिली भाषामा इच्छा हुँदाहुँदै पनि शपथ लिन नपाएका प्रदेश २ का मन्त्रीहरू भने जयरामले मैथिलीमा शपथ लिएपछि तनावमा छन् ।
