प्रशोधक समाचारदाता / जनकपुरधाम, १७ चैत ।
सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले धनुषाको मिथिला नगरपालिकास्थित ढल्केवरमा ट्रमा सेन्टर निर्माणका लागि प्रस्तावित जग्गाको अवलोकन गरेकी छिन् । निर्माणस्थलसम्बन्धी मापदण्डका आधारमा ढल्केवरको जग्गा अनुपयुक्त रहेको भन्दै मन्त्रालयका अधिकारीहरूले ट्रमा सेन्टर अन्यत्र सार्ने षड्यन्त्र गरिरहेको स्थानीयले आरोप लगाएका बेला मन्त्री झाँक्रीले प्रस्तावित जग्गाको अवलोकन निरीक्षण गरेकी हुन् ।
संघ सरकारले धनुषाको ढल्केवरलाई किटान गरी ट्रमा सेन्टर बनाउने तयारी गरेको छ । तर, राजनीतिक प्रभाव र दबाबमा मन्त्रालयका प्राविधिकहरूले ढल्केवरमा प्रस्तावित जग्गा अनुपयुक्त भएको भन्दै निर्माणकार्य अघि बढाउने काम गरिरहेका छैनन् ।
ट्रमा सेन्टर अन्यत्र सार्न सहरी विकास तथा भवन निर्माण विभागको संघीय आयोजना कार्यान्वयन एकाइ धनुषाका जनकपुरधामका प्राविधिकदेखि आयोजना प्रमुखसम्म संलग्न रहेको स्थानीयको आरोप छ ।
हाल मिथिला नगरपालिका–७, साबिकको ढल्केवर गाविस वडा नं २ ‘क’ को कित्ता नं १६९ को चार बिघा क्षेत्रफल रहेको ऐलानी जग्गालाई आधार मानेर संघ सरकारले आर्थिक वर्ष २०७८/०७९ को बजेटमा धनुषाको ढल्केवरमा ट्रमा सेन्टर निर्माण गर्ने शीर्षकमा रकम विनियोजन गरेको छ ।
आयोजनाका अधिकारीहरूले निर्माणस्थल राजमार्गभन्दा पाँच सय मिटर हुनुपर्ने तर्क गर्दै निर्माणकार्यमा ढिलाइ गरिरहेका छन् ।
