जनकपुरधाम, २ मंसिर ।
आर्थिक दुरवस्था, चेतना अभाव र स्वास्थ्य संस्थासम्म पहुँचको कमीका कारण मोतिबिन्दुका रोगीहरूले उपचार पाउन सकेका छैनन् । तर, पछिल्लो समय राजनीतिकर्मीहरूका प्रयासका कारण गाउँघर तथा टोलछिमेकमै मोतिबिन्दु भएकाहरूको पहिचान र उपचार प्रयास भने भइरहेका छन् ।
प्रदेश २ का आन्तरिक मामिला तथा सञ्चार मन्त्री भरतप्रसाद साहको तत्परता एवम् अगुवाइमा महोत्तरीको फुलकाहामा आँखासम्बन्धी रोगको पहिचान तथा प्रारम्भिक उपचार अनि त्यसपछि गनुपर्ने उपचारात्मक प्रयासकेन्द्रित स्वास्थ्य शिविर सञ्चालन भयो ।

शिविरमा वंशाणुगत समस्या, बढ्दो उमेर, पोषण कमी, निरन्तर झाडापखाला, उत्तेजक औषधि सेवनकर्ता, मदिराचुरोटका दुव्र्यसनी, दुर्घटनाका शिकार र दीर्घरोगीहरूमा मोतिबिन्दुको समस्या खोजिए ।
आँखाको प्राकृतिक लेन्स धमिलिएपछि दृष्टिदोष हुने रोग मोतिबिन्दु यत्तिका समस्या देखिएका व्यक्तिहरूमा नदेखिने कुरै थिएन । स्वाभाविक रूपमा शिविरमा आँखा परीक्षण गराउन आउने धेरैमा देखिए ।
अनि मन्त्री साहलाई मोतिबन्दुका रोगीका लागि तत्काल केही गर्नेपर्ने सुझ्यो । संयोग थियो मन्त्री साहका पिता रामअशीष साह मोतिबिन्दुकै शल्यक्रियाका लागि जनकपुरधामस्थित जानकी आँखा अस्पताल भर्ना भएका थिए ।
शल्यक्रियाका लागि मोतबिन्दुका बिरामीहरू लागि धेरै सँख्यामा आँखा अस्पताल आउने गरेका र तिनमा गरीबहरूको सँख्या अत्यधिक रहने भेउ पाएका मन्त्री साहले पितादर्शनका लागि आएका बेला तत्काल निर्णय गरे । त्यो निर्णय थियो – मोतिबन्दुका गरीबगुरुवा बिरामीलाई कम्बल बाँड्ने ।
अनि मन्त्री साहले बाँडे मोतिबन्दका ४७ जना बिरामीलाई कम्बल ।
‘जाडोयाममा मोतिबन्दुको शल्यक्रिया गराउनुपर्ने र अस्पतालबाट निकै टाढा जानुपर्ने ती बिरामीहरूलाई जाडो छल्न कम्बल चाहिन्छ भन्ने बोध भएरै मन्त्रीजीले तत्काल न्यायो ओढ्ने सामग्री दिने निर्णय गर्नुभएको हो,’ मन्त्री साहका स्वकीय सचिव विजय यादवले भने, ‘कम्बल बाँड्ने निर्णय पूर्वनिर्धारित होइन, मन्त्रीजीको संवेदनशीलताको तत्क्षण प्रकटीकरण हो ।’
कम्बल बाँडेपछि भने मन्त्री साहले मोतिबन्दुका रोगी बुढापाकाहरूसँग मनग्गे आशीर्वाद पाएका छन् ।
कम्बल लिँदै एक ६५ वर्षीया वृद्धाले भनिन्, ‘घरका छोरा काम लागेनन्, जनकपुरमा चाहिँ छोरो भेटाएँ ।’
कम्बल वितरण भने मन्त्री साहले व्यक्तिगत रूपमा गरेका छन् ।
