अहिलेका


मन्त्री शैलेन्द्रले नमस्कार गर्दै बच्चाबच्चीसँग भलाकुसारी गरे

जनकपुरधाम, ३ मंसिर ।
प्रदेश २ का अर्थमन्त्री शैलेन्द्रप्रसाद साह महोत्तरीको मटिहानीबाट जनकपुर फर्कँदै थिए । मटिहानीस्थित लक्ष्मीनारायण मन्दिरमा दर्शन र मटिहानीको धार्मिक, ऐतिहासिक र साँस्कृतिक महत्व बुझ्न पहिलोपटक त्यहाँ पुगेका मन्त्री साह जनकपुर सहर नजिकिन थालेपछि सडकछेउको एउटा अग्ला भवनतिर गाडी मोड्न चालकलाई आदेश दिए ।

मटिहानीबाट सोझै जनकपुर आउने कार्यक्रम तय थियो । चालक अकमकाएँ । तर उनी सडकछेउको घेराबेरा भएको एउटा परिसरभित्र गाडी हुले । त्यहाँ नीलोसेतो पोसाकमा ससाना नानीहरू खेलिरहेका थिए । कोहीकोही किताबकलम लिएर कक्षाकोठातर्फ गइरहेका थिए ।

हो, यो जनकपुरधाम नगरपालिका क्षेत्रभित्र पर्ने बसहियास्थित गोगुल प्रसाद उच्च माविको दृश्य थियो । मन्त्री साह घन्टी लाग्नुअघि नै त्यहाँ पुगेका थिए । झन्डावाल गाडीबाट ओर्लिएपछि मन्त्री साहले बच्चाहरूलाई नमस्कार गरे । उनले एकएक गरी केही बच्चासँग नाउँ, गाउँ र पढ्ने कक्षाका बारेमा जिज्ञासा राखे । त्यसपछि पठनपाठन र कतिपयसँग पाठ्यविषयबारे सोधे ।

प्रदेश २ का अर्थमन्त्री शैलेन्द्रप्रसाद साह गोगुलप्रसाद उच्च माविका विद्यार्थीसँग कुराकानी गर्दै ।

बच्चाबच्चीहरूले पनि बडो आत्मविश्वास र दृढतापूर्वक मन्त्री साहका हरेक प्रश्नका उत्तर सजिलै दिए । त्यसपछि बल्ल ती नानीहरूले थाहा पाए कि आफूले कुरा गरेका व्यक्ति प्रदेशका मन्त्री पो रहेछन् । उनीहरूले जिद्दी गर्दै मन्त्री साहसँग सामूहिक फोटो खिचाए ।

७२ वर्षअघि स्थापना भएको बसहियाकोे गोगुलप्रसाद उच्च मावि नमुना विद्यालय हो । भौतिक संरचना र शैक्षणिक व्यवस्थापनका दृष्टिले अब्बल मानिने यस विद्यालयका बारेमा मन्त्री साहले सुनेका रहेछन् । मटिहानीबाट फर्कँदा उनका आँखा विद्यालयको बोर्डतिर सोझिएपछि सरासर पसेरै अवलोकन गर्ने तत्क्षण निधो गरे ।

उनले भने, ‘सामुदायिक शिक्षा व्यवस्था अस्तव्यस्त भएका बेला कुनै विद्यालयले राम्रो गरेको सुन्दा खुसी हुनु स्वाभाविक हो । खासमा विद्यालय सुधार प्रयासमा प्रदेश सरकारले गर्न सक्ने योगदानका विषयमा बुझ्न पनि त्यहाँ पुगेको हुँ ।’

मन्त्री साहले प्रदेशका नमुना विद्यालयहरूलाई थप व्यवस्थित गर्न प्रदेश सरकारले योजना बनाउने पनि सुनाए ।

उनले सामुदायिक विद्यालयलाई बिनातयारी स्थानीय तहलाई दिइएको र धेरै अर्थमा स्थानीय तह विद्यालय व्यवस्थापन गर्न अधिकारसम्पन्न हुन नसकेकाले शिक्षा व्यवस्था अस्तव्यस्त बनेको औंल्याए ।

 


Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!