अहिलेका


मन्त्री साहको निर्देशनमा अवैध प्याथोलोजी नियमन गरिने

जनकपुरधाम, ८ असोज
प्रदेश २ को प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाले प्रयोगशाला सञ्चालन सम्बन्धी मापदण्डअनुसार सञ्चालन अनुमति नलिएका स्वास्थ्य प्रयोगशाला(प्याथोलोजी) हरूलाई स्वीकृति प्रक्रियामा आउन सचेत गराएको छ ।

प्रयोगशालाका परीक्षणहरू गलत, अविश्वसनीय र कतिपय अवस्थामा जोखिमपूर्ण हुन थालेका गुनासा तीव्र भएपछि प्रदेशका सामाजिक विकास मन्त्री नवलकिशोर साहको निर्देशनमा प्याथोलोजीहरूलाई नियमन गर्ने कार्य तीव्र पारिएको हो ।

प्रदेशका अधिकांश ठाउँमा सञ्चालनमा रहेका प्याथोलोजी मापण्डविपरीत आवश्यक भौेतिक पूर्वाधार, उपकरण तथा रसायण र जनशक्तिविहीन अवस्थामा छन् । प्रादेशिक राजधानी जनकपुरधामका करिब एक सय ६५ प्याथोलोजीमध्येका बहुसँख्यक कुनै पनि निकायमा दर्ता छैनन् । तर, ती प्याथोलोजीहरूले वर्षौंदेखि निर्धक्क भएर नमुना संकलन र परीक्षण प्रतिवेदन दिँदै आएका छन् ।

केही प्याथोलोजीले भने जिल्ला स्वास्थ्य कार्यालय धनुषाको सामान्य अनुगमनपछि जनकपुरधाम उपमहानगरपालिकाको स्वीकृति लिएका छन् । तर, स्थानीय तहले दिने स्वीकृतिको सामान्य स्तरभन्दा पनि विशेषज्ञ र विशिष्टिकृत सेवा दिनेमा दर्ता भएका वा नभएका दुवै खालका प्याथोलोजी छन् ।

प्रयोगशालाहरूलाई सञ्चालन स्वीकृतिका लागि कानुनअनुसारका प्रक्रिया अगाडि बढाउन सचेत गराइएको प्रदेशका स्वास्थ्य अधिकारीहरूले बताएका छन् । प्रदेश जनस्वास्थ्य प्रयोगशालाका प्रमुख डा.श्रवणकुमार मिश्रले रोगको निदानका लागि अत्यन्त महत्वपूर्ण हुने प्याथोलोजी रिपोर्टलाई गुणस्तरीय तथा भरोसायोग्य बनाउन नियमन गर्ने प्रक्रिया थालिएको बताए ।

उनले भने, ‘एउटै बिरामीका हकमा प्रयोगशालापिच्छे फरक–फरक प्रतिवेदन आउने गर्छन् । यसले प्रयोगशालाहरूको विश्वसनीयता नै समाप्त हुने स्थितिमा पुर्याएको छ ।’ डा.मिश्रका अनुसार पहिलो चरणमा प्रयोगशाला सञ्चालक, स्वास्थ्य प्राविधिक र सेवाग्राहीहरूलाई सचेत बनाउने र क्रमिक रूपमा प्रयोगशालाहरूलाई मापदण्डअनुसार नियमन गर्दै परीक्षण प्रतिवेदनको गुणस्तर कायम गर्ने योजना प्रदेश जनस्वास्थ्य प्रयोगशालाको छ ।

जनकपुरधाममा सानो कोठामा सीमित उपकरण र कमसल जनशक्तिका भरमा प्रयोगशाला सञ्चालन भइरहेको अवस्था पहिलेदेखि नै हो । प्रयोगशालामा नमुना संकलन गर्ने केही जनशक्तिको शैक्षिक पृष्ठभूमि प्याथोलोजीसँग जोडिएको छैन । केहीसँग शैक्षिक प्रमाणपत्र र कानुनअनुसार नेपाल स्वास्थ्य प्राविधिक परिषद्को दर्ता नम्बर भए पनि उनले आफूले प्रयोग गर्ने लेटरप्याड वा बोर्डमा नेपाल मेडिकल काउन्सिलमा दर्ता भएको उल्लेख गरेका डा.मिश्रले जानकारी दिए ।

परीक्षणमा संलग्न स्वास्थ्य प्राविधिकका नाम, नेपाल मेडिकल काउन्सिल वा नेपाल स्वास्थ्य प्राविधिक परिषद्का दर्ता नम्बरसहित हस्ताक्षर भएको रिपोर्ट बिरामी वा उनका सहयोगीहरूले स्वीकार गर्न थालेपछि प्रयोगशाला क्षेत्रमा देखिएको बेथितिमा कमी आउने डा.मिश्रको भनाइ छ ।

प्रयोगशाला सञ्चालनसम्बन्धी मापदण्डअनुसार प्याथोलोजी विषयहरूमा सि, बि र ए वर्गका जनशक्ति वा क्लिनिकल प्याथोलोजीमा डिप्लोमा(प्याथोलोजी÷प्रयोगशालाका जनरलिस्ट), बिएमएलटी गरी बायोकेमेस्ट्री, माइक्रोबायोलाजी, भाइरोलोजी, हेमाटोलोजी, साइटोलोजी(विशेष कन्सल्टेन्टं) का हकमा नेपाल स्वास्थ्य प्राविधिक परिषद् र एमबीबीएस गरी बायोेकेमेस्ट्री, माइक्रोबायोलोजी, हिस्टोप्याथोलोजी, हेमाटोलोजी विशेषज्ञ(विशेष कन्सल्टेन्ट) का लागि नेपाल मेडिकल काउन्सिलका दर्ता हुन्छन् ।

त्यसबाहेक दर्ता नम्बर नभएकाहरू प्याथोलोजी परीक्षण प्रतिवेदन दिन योग्य मानिँदैनन् ।


Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!