अहिलेका


मर्नेलाई क्षतिपूर्ति होइन, नमर्ने उपाय खोजौं सरकार !

करिब दुई दशकयता तराईमधेसमा बाढीको समस्या बढी भएको देखिन्छ जबकि यस अवधिमा चुरेमा धरै गतिविधि भई चुरे पहाड पहिलाभन्दा हराभरा भएको छ । तर यस अवधिमा चुरेवाट बग्ने माटोमा कमी आएको छैन किनभने यसै दुई दशकमा तराईमधेसको नदीको सतह माथि उठेको छ ।

जसले गर्दा खोला र नदीमा पानी अट्ने क्षमता घटिरहेको छ र सानो मात्रामा पानी परेपछि बाढी आउने गर्दछ । चुरे संरक्षित भएको भए चुरेबाट यतिमात्रामा माटो बग्ने नै थिएन । अहिले बेमौसमी वर्षाले त देशमा धनजनको क्षति भएको छ भने वर्षायाममा हुने बाढीको प्रकोपलाई कसरी सामना गर्न सकिन्छ ।

डा.नागेन्द्रप्रसाद यादव

नदी खोलाको सतह पुरिन गई नदीमा पहिला जतिको पानी अट्न नसकेर बाढीका रूपमा नदीको किनारा कटान‚ पटान र डुबान हुने गर्दछ ।

पहाडमा भूक्षय हुने दुईवटा कारण छन् । पहिलो, प्राकृतिक जस्तो कि भूक्षय र पहिरो । दोस्रो, मानवीय गतिविधिले गर्दा भूक्षय हुने गर्दछ । जसले गर्दा वर्तमान अवस्थामा प्रत्येक नदीमा थेग्रानले गर्दा प्राकृतिक बहावमा परिवर्तन आएको छ ।

सरकारले बाढीपीडितलाई राहत वितरणको मनस्थितिभन्दा यसको निवारणको उपायमा लाग्नुपर्दछ । नत्र लथालिङ देशको भताभुङ चाला जसैजसै पर्ला त्यसै त्यसै टर्ला भन्ने जस्तो हुन्छ ।

तराई मधेशमा बाढीका मुख्य कारण :

१. चुरेमा वन जंगलको विनास र भूआवरणको कमी
२. वर्षाको पानी चुरेमा कम शोषण र बहावमा तीव्रताले माटो बग्नेमा वृद्धि तथा नदीको पानी अटने क्षमतामा कमी
३. अवैज्ञानिक भूउपयोग जस्तो कि भिरालो जग्गामा वर्र्षेिन खनजोत गर्नाले माटो बग्नेमा वृद्धि
४. विकासका नाममा जथाभाबी सडक र वाटो निर्माण गर्न डोजर आतंकले भूक्षयमा वृद्धि
सिरहा र सप्तरीलगायत अन्य जिल्लामा चुरे भएर दक्षिणवाट उत्तरतिर सडक बनाइरहेको छ जबकि चुरेको धेरैजसो ठाउँमा गाउँबस्ती पनि छैन । यी कारणहरूले गर्दा चुरेक्षेत्रबाट नदीमा बालुवा, ग्रयाभेल थुप्रेर नदीको सतह माथि उठिरहेको छ ।

तराईको धेरैजसो खोलाका बीचमा नदीजन्य पदार्थ थुप्रिएर टापु जस्तो बनेको छ । नदीको सतह माथि र गाउँघर‚ जग्गा जमिन तल भइसकेको छ । नदीजन्य पदार्थको उचित व्यवस्थापन भइरहेको छैन ।

के नीतिनिर्माता र सरेकारवालाहरू यसप्रति संवेदनशील छन् ? के यसरी चुरेको उत्खनन् गरेर तराईमा बाढीको समस्या समाधान गर्न सकिन्छ ? प्राविधिक र नेताजीहरूले तटबन्धको कुरा मात्र गर्नु हुन्छ । तटबन्ध कति अग्लो बनाउने ? मात्र तटबन्धबाट समस्याको समाधान हुँदैन र एकीकृत रूपमा माथ्लो तटदेखि तल्लोतटसम्म कार्य पनि भएको छैन ।

तसर्थ यथार्थलाई अत्मसात गरी चुरे‚ भावर र तराईमधेशमा एकीकृत रूपमा यी क्रियाकलापहरू गर्नुपर्दछ ।

क) भिरालो क्षेत्रमा बहुवर्षे बाली खेती र चुरेको खोलाखोल्सी र पाखामा वृहत् अम्रिसो तथा बाँस रोपण ।
ख) गल्छी नियन्त्रणका लागि चेकड्याम तथा नदी कटान रोक्न उपयुक्त भौतिक संरचना निर्माण ।
ग) चुरेको फेदमा जलाशय निर्माण र भएको जलाशयको मर्मत गरी सिल्ट रोक्ने, पानी पुनर्भरन र सिँचाइको सुविधा प्रदान गर्ने ।
घ) माथिलो तटमा वातावरणमैत्री भौतिक पूर्वाधार, बाटो, निर्माण र डोजर आतङ्क कम गर्नु पर्दछ ।
ङ) नदीका दुवै किनारामा माथिदेखि तल्लो तटीय क्षेत्रसम्म बाँधका दुवैतिर हरित क्षेत्र बनाउन काँस, बेत, बाँस र रुख योजनाअनुसार लगाउने तथा संरक्षण एवम् उपयेग गर्न स्थानीय समुदायलाई सहभागी गराउने ।
च) चुरेक्षेत्रमा ढुंगा, गिट्टी उत्खनन् गर्नु हुँदैन तर भावर तथा तराईको नदीमा थुप्रेका नदीजन्य ढुंगा, गिटी, बालुवा वातावरणीय प्रभाव मूल्यांकनबमोजिम योजनाबद्ध किसिमले नदी चेनेलिङ गरी निकाल्ने तथा विक्रीवितरण गर्ने ।

सरकारले बाढीपीडितलाई राहत वितरणको मनस्थितिभन्दा यसको निवारणको उपायमा लाग्नुपर्दछ । नत्र लथालिङ देशको भताभुङ चाला जसैजसै पर्ला त्यसै त्यसै टर्ला भन्ने जस्तो हुन्छ ।


Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!