अहिलेका


महोत्तरीमा २४ घन्टामा चार आत्महत्या प्रयास


जनकपुरधाम, ७ असोज ।
महोत्तरीका विभिन्न स्थानमा २४ घन्टाभित्र एक बालकसहित पाँचजनाले आत्महत्या प्रयास गरेका छन् । उनीहरूले एक दिनकै अवधिमा विषादी सेवन गरी आत्महत्या गर्ने प्रयास गरेका हुन् ।

विषादी सेवन गर्नेमध्ये चारजनाले घरायसी समस्याका कारण र बालकले नबुझेर विषादी सेवन गरेको महोत्तरी प्रहरीले जनाएको छ ।

विषादी सेवन गर्नेमा महोत्तरीको भंगहा नगरपालिका–१ का १८ वर्षीय रवीनकुमार मण्डल, मटिहानी नगरपालिका– १ का ३० वर्षीया थतमा खातुन, एकडारा गाउँपालिका–४ का २५ वर्षीय रवीन्द्र राय, बर्दिवास नगरपालिका– ६ चौलिखाका ८ वर्षीय कमलेश राउत र बर्दिवास नगरपालिका–९ पशुपतिनगरका १६ वर्षीय राकेशकुमार सिंह रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जनाए ।

बुधबार साँझ भंगहाका १८ वर्षीय रवीनकुमार मण्डलले घरायसी समस्याका कारण विषादी सेवन गर्दा सिकिस्त अवस्था उत्पन्न भएको थियो । उनलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर ल्याइएपछि अवस्थामा सुधार हुँदै गएको जनाइएको छ ।

त्यस्तै मटिहानीकी ३० वर्षीया थतमा खातुनले घरायसी विवादका कारण विषादी सेवन गरेकी थिइन् । उनको उपचार जिल्ला अस्पताल जलेश्वरमा भइरहेको छ ।
त्यस्तै एकडाराका २५ वर्षीय रवीन्द्र रायले घरायसी समस्याका कारण विषादी सेवन गरेका छन् । अहिले उनको उपचार जिल्ला अस्पताल जलेश्वरमा भइरहेको जनाइएको छ ।

बुधबार राति बर्दिवास– ६ का लक्ष्मण राउतका छोरा अन्दाजी ८ वर्षीय कमलेश राउतले घरमा राखेको धानमा छर्ने विषादी अन्जानमा सेवन गर्दा सिकिस्त भएको महोत्तरी प्रहरीले जनाएको छ । उनको उपचार जनकपुरधामस्थित रामजानकी अस्पतालमा भइरहेको महोत्तरी प्रहरीले जनाएको छ ।

त्यस्तै बिहीबार महोत्तरीको बर्दिबास–९ पशुपतिनगरका १६ वर्षीय राकेशकुमार सिंहले घरायसी समस्याका कारण विषादी सेवन गरेका थिए । उनको उपचार जनकपुरधामस्थित चन्द्रकला अस्पतालमा भइरहेको जनाइएको छ ।

महोत्तरी प्रहरीले दिएको जानकारीअनुसार महोत्तरीमा पछिल्लो समय आत्महत्या गर्नेको संख्यामा वृद्धि भएको छ । यस घटनामा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रवक्ता विष्टले बताए ।


Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!