अहिलेका


शहिद पुत्री बोधमाया राज्यमन्त्री बन्ने पक्कापक्की

जनकपुरधाम, २१ असोज ।

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुनका लागि नेकपा माओवादी केन्द्रले थप चार मन्त्रीको नाम सिफारिस गरेको छ ।
माओवादी केन्द्रको बुधबार बसेको स्थायी कमिटी बैठकले मन्त्रि परिषदमा पठाउनका लागि शशि श्रेष्ठ, देवेन्द्र पौडेल, महेश्वर गहतराज र बोधमाया कुमारी यादवलाई छनोट गरेको छ ।

मन्त्री छनोटमा माओवादीले अपनाएको पहिलो मापदण्ड हो, पहिले मन्त्री बनेकालाई नदोहोर्याउने ।
यो मापदण्ड अनुसार नयाँ मन्त्रीहरु छानिएका छन् । यद्यपि अघिल्लो छनोटमा चाहिँ पम्फा भुसाल र जनार्दन शर्मा पुरानै दोहोरिएका थिए ।
बाँकेका सांसद महेश्वर गहतराज र धनुषाकी सांसद बोधमायाकुमारी यादव पनि मन्त्रीको छनोटमा परेका छन् ।
यीमध्ये यादवले राज्यमन्त्री पाउनेछिन् । बाग्लुङबाट निर्वाचित सांसद देवेन्द्र पौडेल यसअघि एकपटक पनि मन्त्री बनेका छैनन् ।

शहिद पुत्री बोधमाया यादवको यात्रा

माओवादीले मन्त्रीको नाम सार्वजनिक गरेसंगै धनुषाको गणेशमान चारनाथ नगरपालिका वडा १० स्थित बरमझियामा प्रस्तावित राज्यमन्त्री बोधमाया कुमारी यादव २०३१ साल कात्तिक २८ गते जन्मिएकी हुन् ।

माओवादी आन्दोलनका सहिद स्व.रामवृक्ष यादवकी छोरी रहेकी उनको परिवारमा श्रीमान, दुई छोरा र एक छोरी छन् । नेपाली विषयमा स्नातक तहको अध्ययन गरेकी यादव २०७४ सालको प्रतिनिधि सभामा सांसद भएकी हुन् ।

२०४४ सालमा अखिल छैठौंको जिल्ला समिति सदस्यबाट विद्यार्थी राजनीतिमा आवद्ध भएकी उनी २०५८ सालमा तत्कालीन नेकपा माओवादी निकट अखिल नेपाल महिला संघको केन्द्रीय सदस्य थिइन् ।

प्रतिनिधिसभा सदस्य बोधमाया यादव २०६० सालमा माओवादीको धनुषा जिल्ला समिति सदस्य, २०६७ सालमा माओवादीको धनुषा जिल्ला सह–सेक्रेटरी र २०६८ सालमा तत्कालीन एकीकृत नेकपा माओवादीको केन्द्रीय सदस्य भइन् ।
त्यस्तै, २०७० सालमा एकीकृत माओवादीको पोलिटब्युरो सदस्य समेत बनिन् ।
राजनीतिक आन्दोलनका क्रममा २०६२ चैत २९ देखि २०६३ असार १ गतेसम्म उनलाई नजरबन्दमा समेत राखिएको थियो । उनले सहिद रामवृक्ष यादव स्मृति प्रतिष्ठान लगायतका सामाजिक संस्थाको पनि नेतृत्व गर्दै आएकी छिन् ।

पहिलोचोटि मन्त्री बन्न लागेकी उनलाई माओवादीले सहिद परिवार र मधेसी समुदायको कोटाबाट सरकारमा चयन गरेको छ ।

यसअघि प्रदेश २ का मातृकाप्रसाद यादवको नाम चर्चामा आएको थियो । तर, यादव पहिले पनि मन्त्री भइसकेकाले उनकै सिफारिसमा सहीद परिवारबाट बोधमाया यादवलाई राज्यमन्त्री बनाउन लागिएको हो ।


Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!