आगामी निर्वाचनमा ध्यान केन्द्रित गर्न अध्यक्ष प्रचण्डको निर्देशन
जनकपुरधाम, २० कात्तिक ।
नेकपा माओवादी केन्द्रले प्रदेश २ का आठवटै जिल्लामा जिल्ला समन्वय समितिका संयोजक तोकेको छ । त्यसका अतिरिक्त पार्टीले केही जिल्लामा सहइन्चार्ज र वीरगन्ज उपमहानगरपालिकामा समन्वय समिति संयोजक नै चयन गरेको छ ।
पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पार्टी सचिवालय सदस्य नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ को उपस्थितिमा पार्टी प्रदेश नम्बर २ को पदाधिकारी बैठकले जिल्ला समन्वय समिति संयोजक, सहइन्चार्ज र वीरगन्ज महानगरपालिका इन्चार्ज तोक्ने निर्णय भएको हो ।
पार्टीको सदस्यता अभियान र सम्मेलनको निर्धारित कार्यक्रम समयमैे सम्पन्न गर्नुपर्ने भएकाले जिल्लाका पूर्व पदाधिकारीहरू(अध्यक्ष तथा सचिव) लाई नै जिल्ला समन्वय समिति संयोजक तोकिएको छ ।
सहिदनगर नगरपालिकाका मेयर एवम् पार्टीका युवा नेता उदयकुमार बरबरियाका अनुसार सप्तरीमा उमेशकुमार यादव, सिरहामा रामकुमार यादव, धनुषामा दिपक यादव, महोत्तरीमा तुलसी ढुंगाना, सर्लाहीमा कमल बुढाथोकी, रौतहटमा देवेन्द्र पटेल, बरामा अनिल श्रेष्ठ र पर्सामा रामदरेश कुशवाहा संयोजक तोकिएका छन् ।
यसैगरी वीरगन्ज महानगरपालिकामा रहबर अन्सारी संयोजकमा छनोट भएका छन् भने सर्लाहीका सहइन्चार्जहरूमा लोचन धिमाल र रामपृत राय तथा धनुषाका सहइन्चार्जमा झल्कु यादव रहेका छन् ।
बैठकले पालिकाहरूको इन्चार्ज तोक्न सम्बन्धित जिल्लाका केन्द्रीय सदस्य, जिल्ला इन्चार्ज, सहइन्चार्ज र संयोजकलगायत प्रदेश सदस्यहरूसँगको परामर्शमा टुंगो लगाउने निर्णय गरेको छ ।
बैठकले पार्टीको प्रदेश २ का सल्लाहकार र जेष्ठ कम्युनिस्ट मञ्च, प्रदेश विभाग, जनवर्गीय संगठन र मोर्चा संगठनहरू यथाशीघ्र गठन गर्ने निर्णय गरेको छ ।
बैठकले पार्टीको धनुषा जिल्ला कार्यायलमा प्रदेश कार्यालय सञ्चालन गर्ने जिम्मा प्रदेश २ सचिव जोगकुमार बरबरिया ‘जीवन’ लाई दिएको छ ।
प्रदेश समितिको आगामी बैठक कात्तिक ३० देखि मंसिर २ गतेभित्र हुनेछ ।
बैठकमा पार्टी अध्यक्ष प्रचण्डले पार्टीका नीति, योजना र निर्णयलाई दृढताका साथ कार्यान्वयन गर्न र एकजुट भएर अघि बढ्न सबैलाई निर्देशन दिएका छन् । उनले पार्टी विधानका व्यवस्थाअनुरूप संगठन परिचालन गर्न र अनुशासनको कडाइका साथ लागु गर्न सबैलाई सचेत पनि गराए ।
अध्यक्ष प्रचण्डले पार्टी पदाधिकारीहरूलाई निर्वाचनमा केन्द्रित भएर काम गर्न समेत निर्देशन दिए ।
पार्टी सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले पार्टीलाई वैचारिक र सांगठनिक रूपमा मजबुत बनाउनुपर्ने धारणा व्यक्त गरे ।
